ठूला गाडीको लापरवाहीले यात्रुलाई सास्ती

शनिबार, ११ फागुन २०७५, १४ : ०५

बलेवा – साँघुरो जमीनमा फैलिएको बागलुङ बजारमा ठूला सवारीसाधनको लापरवाहीका कारण यात्रुलाई सास्ती हुने गरेको छ । 

सामान ढुवानी गरेका ठूला सवारीसाधन दिउँसो पार्किङ नगर्ने वा बजारभित्र छिर्न नदिने भन्ने नियम दिनदिनै उल्लङ्घन गर्दै बजारभित्र पार्किङले यात्रुलाई सास्ती भएको हो । नगरभित्रका मुख्य सडकमा दिउँसो मालबाहक सवारी भित्र्याउन नपाउने नियम ठूला व्यापारीले अटेर गरेको स्थानीयवासीको गुनासो छ । 

ठूला सवारीले सिमेन्ट, रड, खाद्यान्नलगायतका सामग्री लोडअनलोडका लागि घण्टौँ बाटो अवरुद्ध गर्दै अएका छन् । अस्पतालका लागि आएका एम्बुलेन्सले बाटो नपाएर घुमाउरो बाटो हिँड्न बाध्य छन् । सदरमुकामका चोक व्यवस्थापन गर्ने र ट्राफिक चिह्न राख्ने गरी बनाइएको योजना अलपत्र भएको जिल्ला ट्राफिक प्रमुख सुकबहादुर विकले बताउनुभयो । 
“दुईतर्फ ट्रक पार्किङ गर्दा पैदलयात्रीले बाटो काट्न नसकिने भयो”, स्थानीयवासी किरण राजेशले भन्नुभयो, “सवारी छन् भनेर जे गरे पनि हुन्छ भन्ने लापरवाही गर्नु भएन ।” छेउका नालीसमेत च्यापेर उनीहरुले सवारी रोक्ने गरेको उहाँले बताउनुभयो । 

ट्राफिक कार्यालयले बजार व्यवस्थापनका लागि कार्ययोजनासहित नगरपालिकामा पेश गरेको १० बँुदे सुधार योजना अहिलेसम्म छलफलमा समेत लगेको छैन । नगरपालिकाले अहिलेसम्म व्यवस्थापकीय कामका लागि बजेट नदिएको ट्राफिक प्रमुख विकले टिप्पणी गर्नुभयो । बजारमा जेब्रा क्रस, फुटपाथ छुट्याउने, ठेला गाडा व्यवस्थापन तथा घुम्ती र चोकमा ऐना राख्ने कामका लागि कार्ययोजना बनाइएको उहाँले बताउनुभयो । 

अक्षयकोषलाई दश लाख सहयोग 
बागलुङको बलेवामा रहेको कृष्ण गण्डकी क्याम्पसका लागि सञ्चालन गरिएको रु एक करोडको अक्षयकोष स्थापना अभियानमा राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडलले आफ्ना बुबाको स्मृतिमा रु १० लाख सहयोग गर्नुभएको छ । बागलुङ नगरपालिका–१२ का पौडेलले बलेवा महोत्सवको एक समारोहमा क्याम्पसमा अक्षयकोष स्थापनाका लागि उक्त रकम प्रदान गरेको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कमलकुमार जिसीले बताउनुभयो । 

पौडेलले पिता भीमनाथ शर्माको सम्झनामा रु १० लाख एक हजार १५० सहयोग गर्नुभएको हो । पौडेलको सहयोगलाई सम्मान गर्दै क्याम्पसले स्व भीमनाथको अर्धकदको सालिक क्याम्पस प्राङ्गणमा राखिने निर्णय गरेको छ । उहाँले यसअघि पनि पृथ्वी उच्च मावि अमलाचौरमा करीब रु १० लाख लागतमा भीम पुस्तकालय स्थापना गर्न सघाउनुभएको थियो । शैक्षिक क्षेत्रको प्रगतिका लागि आफूले आर्जेको धनराशि खर्चन पाउँदा निकै खुशी लागेको उहाँले बताउनुभयो । 
 

शनिबार, ११ फागुन २०७५, १४ : ०५

प्रतिक्रिया