काठमाडौँ- बर्खाका तीन महिना कास्की क्षेत्रका नदी तथा खानीजन्य पदार्थको उत्खनन बन्द गर्ने निर्णय गरिएको छ ।
मंगलबार अनुगमन समितिका अध्यक्ष लिलाधर पौडेलको अध्यक्षमा बसेको बैठकले असार, साउन र भदौ महिना उत्खनन बन्द गर्ने निर्णय गरेको हो ।
अनुगमन समितिले सङ्घीय मापदण्डअनुसार नै नदी तथा खानीजन्य पदार्थको उत्खनन बन्द गरेको पौडेलले बताए । उनका अनुसार निर्णय कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालय कास्की र सबै स्थानीय तहलाई पत्राचार गरिनेछ । सङ्घीय मापदण्ड पहिलो संशोधन २०७९ को दफा ४ को उपदफा १६ मा असारदेखि भदौ मसान्तसम्म सबै किसिमको उत्खनन कार्य बन्द गर्नुपर्ने व्यवस्था बमोजिम बैठकले निर्णय गरेको हो ।
कास्कीका पालिकालाई नदीजन्य पदार्थको मौज्दात प्रमाणित गराइ सोको जानकारी ७ दिनभित्र जिल्ला अनुगमन समितिलाई उपलब्ध गराउन पनि आग्रह गरिएको छ । निर्णय कार्यान्वयन भए नभएको कडाइका साथ अनुगमन हुने जिल्ला समन्वय अधिकारी नवराज बरालले बताए । उनका अनुसार कास्कीका कतिपय स्थानमा उल्लेखित मापदण्ड विपरीत उत्खनन जारी छ ।
प्रतिक्रिया