नुवाकोट – विदुर नगरपालिकामा विपद् आएको खण्डमा तत्काल सामना गर्न र विपद् न्यूनीकरणका लागि भन्दै ‘स्थानीय आपत्कालीन केन्द्र’ सञ्चालनमा ल्याइएको छ ।
नगरपालिकाले जीआइजेड सिँढीमुिनको सहयोगमा आपत्कालीन केन्द्र सञ्चालनमा ल्याएको हो । सोमबार केन्द्रको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले विपद्लाई रोक्न नसके न्यूनीकरण गर्न नसकिने भएकाले यस्ता केन्द्र सञ्चालन पश्चात कुनै विपद् आइहालेमा त्यसबाट क्षति कम गराउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
उहाँले विदेशीले जस्तै नेपालीले घरबाट कतै निस्कदा वा कुनै काम गर्दा पहिले नै मौसम, बाटोघाटो लगायतको विषयमा पूर्व जानकारी लिएर मात्र काम गर्ने बानीको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
नगर प्रमुख सञ्जु पण्डितले विपद्को सामना गर्न केन्द्र स्थापना पश्चात सहज हुने बताउनुभयो । उहाँले विपद् कहिले आउँछ भन्ने एकीन नभए पनि आउनसक्ने विपद्लाई रोक्न र आइहाले क्षति न्यूनीकरण र तत्काल उद्धारका लागि केन्द्र स्थापनापछि सहज हुने बताउनुभयो ।
केन्द्रले सम्बन्धित क्षेत्रको सूचना सङ्कलन गर्ने, सरकारी गैरसरकारी निकाय, नागरिक समाज, व्यावसायिक तथा निजी क्षेत्रसँग विपद् प्रतिकार्य तथा शीघ्र पुनःलाभका कार्यलाई प्रभावकारी बनाउन सहकार्य र समन्वय गर्ने प्रमुख पण्डितले प्रतिबद्धता जनाउनुभयो ।
प्रतिक्रिया