काठमाडौँ- हालै आईपीओ बिक्री गरी बाँडफाँट गरेका ४ वटा कम्पनीको सेयर धितोपत्र दोस्रो बजारमा आगामी साताबाट कारोबार आउन सक्ने सम्भावना रहेको छ।
भगवती हाइड्रोपावर, माण्डु हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट कम्पनी र मिड सोलु हाइड्रोपावरको सेयर आगामी साताबाट कारोबारमा आउने सम्भावना रहेको हो। ‘यी ४ वटै कम्पनीको आईपीओ सूचीकरणका लागि नेप्सेमा फाइल आइसकेको छ’, नेप्सेका एक अधिकारीले भने, ‘सम्भवतः आगामी साताभित्रै यी सबै कम्पनीका सेयर नेप्सेमा सूचीकरण भई दोस्रो बजारमा कारोबारमा आउन सक्छन्।’
भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ गत भदौ १८ गते (सोमबार) बाँडफाँट गरिएको थियो। यो कम्पनीले गत भदौ ५ गतेदेखि भदौ ८ गतेसम्म सर्वसाधारणका लागि प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला गरेको थियो।
यसैगरी माण्डु हाइड्रोपावरको आईपीओ गत भदौ २४ गते बाँडफाँट गरिएको थियो। यो कम्पनीले गत भदौ १० गतेदेखि भदौ १३ गतेसम्म सर्वसाधारणका लागि प्रिमियममा आईपीओ बिक्री खुला गरेको थियो।
उता हाथवे इन्भेस्टमेन्ट नेपालले सर्वसाधारणका लागि जारी गरेको आईपीओ गत असोज २ गते बाँडफाँट गरेको थियो। कम्पनीले गत भदौ २१ गतेदेखि भदौ २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो।
यस्तै मिड सोलु हाइड्रोपावरको आईपीओ गत असोज १० गते (बुधबार) बाँडफाँट गरिएको थियो। यो कम्पनीले गत भदौ २९ गतेदेखि असोज २ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो।
प्रतिक्रिया