ब्रोकर कमिसन घटाउँदै धितोपत्र बोर्ड

बुधबार, ०१ कार्तिक २०८०, १५ : ३७

काठमाडौं- धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने निर्णय गरेको छ । उक्त निर्णय अनुमोदनका लागि अर्थ मन्त्रालय पठाउने तयारी बोेर्डले गरेको छ ।

समग्रमा सेबोनले करिब १० देखि १२ प्रतिशतसम्म घटाउने निर्णय गरेको हो । कमिसन घटाएसँगै लगानीकर्ताले प्रत्यक्ष लाभ पाउनेछन् । यसअघि धितोपत्र बोर्डले साढे २ वर्षअघि ब्रोकर कमिसन घटाएको थियो । धितोेपत्र बोर्डले २०७७ पुस १२ गतेदेखि लागू हुने गरेर ब्रोकर कमिसन ३३ प्रतिशत देखि ६० प्रतिशत सम्मले घटाएको थियो ।

जसअनुसार लगानीकर्ताले ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४०, ५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७, ५ लाख रुपैयाँभन्दा माथि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ र २० लाख भन्दा माथि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत कमिसन लगानीकर्ताले तिर्दै आएका छन् ।

त्यस्तै, १ करोड भन्दामाथि जतिसुकै कारोबारमा पनि ०.२७ प्रतिशत ब्रोकर कमिसन लाग्दै आएको छ भने सरकारी वा संस्थागत ऋणपत्रको खरीद बिक्रीमा पनि ५० हजार रुपैयाँसम्म ०.१०, ५० लाख रुपैयाँसम्ममा ०.०५ र ५० लाख माथिको कारोबारमा ०.०२ प्रतिशत सेवा शुल्क ब्रोकरले लिने गरेका छन् ।

बुधबार, ०१ कार्तिक २०८०, १५ : ३७

प्रतिक्रिया