नेपाल धितो पत्र बोर्डले केही समयका लागि सार्वजनिक निष्कासनमा कडाइ गर्ने तयारी गरेको छ ।
बजार निरन्तर घटिरहेका बेला सार्वजनिक निष्कासनलाई स्वीकृति दिँदा लगानीकर्ता झन् ‘प्यानिक’ हुने भन्दै बोर्डले तत्कालका लागि सार्वजनिक निष्कासनलाई अनुमति दिने प्रक्रिया थाँती राख्न लागेको नेपाल धितो पत्र बोर्डले जानकारी दिएको छ ।
धितो पत्र बोर्ड स्रोतका अनुसार निर्णय नै गरेर सार्वजनिक निष्कासन रोक्न मिल्ने कानुनी आधार नभएकाले अन्य विकल्पहरूको खोजी भइरहेको बताएको छ । ‘सप्लाई बढी भएर बजार प्यानिक भएको जस्तो सन्देश प्रवाह भएको छ, केही समयका लागि आइपिओ, हकप्रद, एफपीओ, प्रिमियमका आईपीओहरुको निष्कासन स्थगित गर्ने उपायको खोजी भइरहेको छ’, धितो पत्र बोर्ड स्रोतले भन्यो ।
उक्त स्रोतका अनुसार तत्कालका लागि बुक बिल्डिङमार्फत हुने सार्वजनिक निष्कासन भने रोकिने छैन् । यस अघि नै सार्वजनिक निष्काशनका लागि अनुमति पाइसकेका कम्पनीहरूको निष्कासन प्रक्रिया भने निरन्तर हुने बोर्डको जानकारी छ ।
बोर्डका अध्यक्ष रमेश हमालले तत्कालै सार्वजनिक निष्कासन रोक्नेबारे ठोस निर्णय नभएको तर त्यसबारे बजारबाट सुझाव आइरहेकाले केही सोच्ने अवस्था बनेको बताएका छन् । ‘हामीले सार्वजनिक निष्कासन रोक्न मिल्दैन, तर बजार प्यानिक भएका बेला थप स्वीकृति दिँदा लगानीकर्ताको मनोविज्ञानमा झनै प्रभाव पर्ने देखिएकाले हामी पनि केही सोच्ने अवस्थामा पुगेका छौ अध्यक्ष हमालले भनेका छन् ।
पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । कमजोर कम्पनीहरूलाई आइपिओ निष्काशनको अनुमति दिएको, हकप्रद सेयर निष्कासनमा कडाइ नगरेको तथा जथाभाबी प्रिमियममा आइपिओ जारी गर्न दिएको भन्दै बोर्ड अध्यक्ष हमालको आलोचना भइरहेको छ ।
प्रतिक्रिया