काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नबिल इक्वीटी फण्डको स्कीम सूचीकरण खारेज गरेको छ ।नेप्सेले फण्डको स्कीम कात्तिक १६ गतेदेखि लागू हुने गरी खारेज गरेको हो । नेप्सेले योजना खारेज सम्बन्धमा फण्डले कात्तिक १६ गते सूचना प्रकाशित गरेकाले सूचीकरण खारेज गरेको बताएको छ ।
नबिल म्युुचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्वीटी फण्ड सात वर्षे अवधिको बन्दमुखी योजना हो । यो योजना सञ्चालनका लागि योजना व्यवस्थापकले २०७३ साल भदौ १४ गते अनुमति प्राप्त गरेको थियो । २०७३ साल कात्तिक १९ गतेदेखि सञ्चालनमा रहेको यो योजना परिपक्व पश्चात खारेजी प्रक्रियामा जानेछ ।
योजना व्यवस्थापकले योजना परिपक्व हुँदासम्मको सम्पत्तिलाई नगदमा परिणत गरी सबै इकाईधनीहरूलाई इकाई संख्याको आधारमा नगद फिर्ता गर्नेछ । धितोपत्रमा लगानी गर्ने प्रमुख उदेश्य सहित सञ्चालित यो योजनाको असोज मसान्तसम्म कुल सम्पत्ति १ अर्ब २९ करोड ६६ लाख ५३ हजार ८२८ रूपैयाँ छ ।
के हो डिलिस्टिङ ?
नेप्सेले लामो समयदेखि कारोबार नभएका वा नहुने वा नविकरण नभएका कम्पनीको सूचीकरण खारेज गर्छ। यस अघि पनि नेप्सेले पटक( पटक गरेर धेरै कम्पनीको सूचीकरण खारेज गरिसकेको छ । नबिल इक्विटी फण्डको स्कीम परिपक्व हुन लागेकोले सूचीकरण खारेज भएको हो । कम्पनीले सामूहिक लगानी कोष नियमावली, २०६७को नियम ३१ उपनियम ७ बमोजिम योजना नै खारेजी गर्न लागेको हो ।
बजार सञ्चालक नेप्से र बजार नियामक नेपाल धितोपत्र बोर्डले कति कम्पनी कुन हिसाबले सूचीकरण खारेज भए त्यसको विवरण सार्वजनिक गरेको भने देखिएको छैन । भारतको नेशनल स्टक एक्सचेन्ज लिमिटेडले भने विभिन्न कारण सूचीकरण खारेज भएका कम्पनीको विवरण वेबसाइटमा राख्ने गरेको पाइन्छ ।सूचीकरणमा आइसकेको कम्पनीले सूचीकरण खारेज गर्न पाउँछ। शेयर सूचीकरण भए जस्तै सूचीकरण खारेज पनि हुन्छ । तर यो स्वैच्छिक र बाध्यात्मक गरी दुई प्रकारले हुन्छ । कम्पनी सूचीकरण गराउन पब्लिकमा रूपान्तरण गराइन्छ भने स्वैच्छिक खारेजी गरेर पुनः प्राइभेटमा फर्काइन्छ ।
बाध्यात्मक अवस्थाको खारेजी सहजै हुन्छ । तर, स्वैच्छिक रूपमा खारेज गर्न केही कानूनी शर्त पूरा गर्नुपर्छ र खारेज नहुन पनि सक्छ ।
प्रतिक्रिया