संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती चेपाङ समुदायलाई न्यानो कपडा (ब्ल्याङकेट) वितरण गरेका छन्। इच्छा कामना गाउँपालिका १ सप्रेनीका १६ चेपाङ परिवारलाई उनले दुई दुई ब्ल्याङकेट वितरण गरेका हुन्।
सोमबार आयोजित कार्यक्रममा उनले आफ्नो पुस्तकको बिक्रीबाट उठेको रकमबाट चेपाङ समुदायलाई सहयोग गरेको जानकारी दिँदै चेपाङ जातीको भाषा र संस्कृति जोगाउन आवश्यक छ भने। “चेपाङ समुदाय मागेर खाने समुदाय मात्र होइन”,उनले भने, “चेपाङ संस्कृति पर्यटन र आयआर्जनसँग जोडेर देशलाई समृद्धि बनाउने समुदाय पनि हो ।”
सरकारले अल्पसङ्ख्यक, सीमान्तकृत जनजातिको भाषा,संस्कृति संरक्षणका लागि विशेष प्राथमिकता दिने उनको भनाइ थियो । मन्त्री किराँतीले चेपाङ संस्कृति जोगाउन अतुलनीय योगदान पु¥याए वापत भोटे बहादुर चेपाङ र बाबरी चेपाङलाई नगद पाँच पाँच हजार सहित सम्मान गरे ।
सो अवसरमा भोटेबहादुर चेपाङले ढ्याङ्रो बजाएर मन्त्री किराँतीलाई आफ्नो संस्कृति देखाएका थिए । इच्छा कामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले चेपाङको अवस्था र इच्छा कामनामा पर्यटन सम्भावनाका बारेमा जानकारी दिए ।
मन्त्री किराँतीले इच्छा कामनाका चेपाङ समुदायलाई लक्षित गरेर पर्यटनका ‘प्याकेज’का कार्यक्रम ल्याउने जानकारी दिए । मन्त्री किराँतीले चेपाङ समुदायसँग देउसी भैलो समेत खेले ।
प्रतिक्रिया