चार वर्षपछि कोरला नाका खुला

मंगलबार, २८ कार्तिक २०८०, ०९ : ३८

काठमाडौं – चार वर्षदेखि बन्द रहेको मुस्ताङको कोरला नाका खुलाउने सहमति भएको छ । मुस्ताङका सबै स्थानीय तहका बासिन्दाले कोरला नाका भएर चीनको (नेचुङ–लिजी) बजार आवत जावत गर्न पाउने भएका छन्। यसअघि चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि मात्रै कोरला नाका भएर चीन जान पाउने अनुमति थियो।

नाका खुलाउन दुई देशका जनप्रतिनिधि र सुरक्षा अधिकारीहरूबीच सोमबार सहमति भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए।

समाचारमा जनाइए अनुसार यसअघि जिल्ला प्रशासन कार्यालय मुस्ताङले लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ९८० जनालाई कोरला नाकाबाट चीन प्रस्थान प्रवेशपत्र वितरण गरेको थियो। सहमतिपछि गृह मन्त्रालय र स्थानीय तहहरूसँग समन्वय गरेर थप पालिकावासीलाई प्रस्थान प्रवेशपत्र वितरणको प्रक्रिया अघि बढाइने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए।

कोरला नाकामा पहिलो चरणमा चीनसँग सिमाना जोडिएको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाले प्रवेश अनुमतिपत्रको आधारमा चीनको नेचुङ–लिचीसम्म व्यापार, व्यवसायका लागि नियमित आवत– जावत थालेका छन्।

कोरोना महामारी फैलिएपछि विसं २०७६ देखि कोरला नाका पूर्ण रूपमा बन्द भएको थियो। त्यसअघिको वर्ष कोरला नाकामा वर्षमा दुईपटक अन्तरदेशीय व्यापार मेला हुने गरेको थियो। विसं २०३२ देखि कोरला नाका आवत–जावतमा कडाइ गरिएको थियो।

विसं २०५८ सम्म रोकतोक नरहेको सीमा विसं २०५९ देखि चीनले तारबार गरेर मेलाबाहेकको अवधिमा बन्द गर्दै आएको थियो। कोरला नाका नियमित सञ्चालन र सबै मुस्ताङवासीलाई आवत(जावतको व्यवस्था भएपछि स्थानीयलाई सहज भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिए।

मंगलबार, २८ कार्तिक २०८०, ०९ : ३८

प्रतिक्रिया