मौरीपालन व्यवसायबाट मिलेको खुशी र आम्दानी

आइतबार, २४ मंसिर २०८०, ०७ : ३२

काठमाडौँ । बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित चोलादेवी पाठक आफ्नो घरमुनिको बारीमा मौरीको स्याहारमा व्यस्त हुनुहुन्छ । उहाँले यो काम गर्न थाल्नुभएको तीन वर्ष पुगिसक्यो । उहाँले भन्नुभयो “बाख्रा पालन र मौरी पालन एकसाथ थालनी गरेककी हुँ ।  यसमा श्रीमान्को साथ र सहयोग पनि रहेको छ । ” 

अहिले पाठककको मौरीफार्ममा ४५ मौरीसहितका घार  छन् । उहाँले ले बाख्रापालनभन्दा मौरी पालनबाट राम्रो आम्दानी भएको बताउनुभयो । उहाँले वर्षमा पाँच सय ५० किलोग्राम मह उत्पादन हुँदै आएको बताउनुभयो । 

“परिवारको सहयोग छ, आफैँ मौरी पालन तालिम लिएपछि व्यावसायिक मौरी पालनमा लागेको हुँ, अहिले उत्पादन भएको मौरी बिक्रीका लागि बजार पुग्न पर्दैन, भैरव स्थान मन्दिर दर्शनका लागि आएकाले खरिद गरेर लैजान्छन्”,किसान पाठकले भन्नुभयो, “४५ बाख्रासमेत पालेको थिएँ, तर बाख्रा पाल्न अलि धेरै खर्च हुने रहेछ, अहिले १० वटा मात्रै बाख्रा छन्, मौरी पालनमा चोखो आम्दानी छ, त्यसका साथसाथै तरकारी खेतीसमेत गर्दै आएको छु ।”

उहाँले ससुरा बुवा देवीप्रसाद पाठकले परम्परादेखि पाल्दै आउनुभएको मुडेघारको मौरीलाई तीन वर्षअघिदेखि व्यावसायिक बनाउन थाल्नुभएको हो । घरमा अझै पनि केही मुडे घार छन् । बाख्रापालनका लागि दुई सय वटा राई खन्यूका बिरुवा लगाइएको र आगामी दिनमा बाख्राको सङ्ख्यासमेत बढाउँदै लैजाने गरी आधुनिक खोर व्यवस्थापनसमेत गरिएको छ ।

पचासवटा बाख्रा अट्ने गरी खोर व्यवस्थापन गरिएको पाठकको भनाइ छ । “बाख्रालाई भन्दा केही सहज छ मौरी पालन, मौरी पालनमा जोखिम भए पनि आम्दानी राम्रो छ, गत वर्ष रु एक लाख ५० हजार बराबरको अनुदानसमेत पाएको थिएँ”, उहाँले भन्नुभयो, “४५ घारबाटै वार्षिक रु छ लाख बढी कमाउन सकिने रहेछ, त्यसैले बाख्रा पालनमा भन्दा मौरी पालनमा बढी ध्यान दिन थालिएको छ, आगामी दिनमा एक सय मौरीका घार पुर्‍याउने हाम्रो परिवारको योजना छ ।”

मौरी पालनलाई रोगबाट जोगाउन सके मात्र पुग्ने उहाँको भनाइ छ । महिला अगाडि बढेर बाख्रा पालन र मौरी पालनमा लाग्दा परिवारको राम्रो सहयोग मिलेको बताउँदै आयआर्जनका लागि महिला अग्रसर हुन आवश्यक रहेको पाठकको भनाइ छ । चार वर्षअघि कुश्मा पुगेर मौरी पालन तालिम लिएपश्चात् मौरी पालनमा लाग्नुभएको पाठकले यसबाट राम्रो आम्दानी गर्न थालेपछि दङ्ग हुनुभएको छ । 

अहिले प्रतिकेजी रु एक हजार दुई सयमा मह बिक्री भइरहेको बताउँदै पाठकले बजारको समस्या नरहेको जानकारी दिनुभयो । अग्र्यानिक मह उत्पादन गर्न सके बजारको चिन्ता लिन नपर्ने उहाँको भनाइ छ । उहाँको फार्ममा बलेवामै उत्पादन भएको बलेवा मौरी पालन उद्योगको आधुनिक घार र जसन घार भारतबाट समेत निर्यात गरिएको छ । मौरीलाई चिसोबाट जोगाउन जस्ताको छाना लगाइएको मौरी पालक किसानको भनाइ छ ।

कोट भैरव कृषि मौरी र पशुपक्षी फार्ममा गत आर्थिक वर्ष कृषि ज्ञान केन्द्रले मह उत्पादन वृद्धि कार्यक्रम अन्र्तगत रु एक लाख ५० हजार अनुदानसमेत दिएको कृषि ज्ञान केन्द्र बागलुङका बागवानी विकास अधिकृत कुमार पुनले जानकारी दिनुभयो । उहाँले बागलुङमा महको उत्पादन बढाउन आधुनिक मौरीका घार ५० प्रतिशत अनुदानमा वितरण गरिरहेको बताउनुभयो ।

आइतबार, २४ मंसिर २०८०, ०७ : ३२

प्रतिक्रिया