काठमाडौँ - अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयर आगामी मंसिर २८ गते बाँडफाँड हुने भएको छ ।सेयरधनीहरुले अनलाइनभन्दा बढी भौतिकरुपमा आवेदन दिएकाले फारम संकलन गर्न बढी समय लागेको बिक्री प्रबन्धकले बताएको छ ।
यसअघि लगानीकर्ताहरुले कम्पनीको हकप्रद सेयरका लागि आवेदन लिएका समय करिब दुई महिना बितिसक्दा पनि बाँडफाँट नगरेर रकम बन्धक बनाएको गुनासो गर्दै आएका थिए । कम्पनीले गत भदौ १८ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि चुक्तापूँजीको १ः१ अनुपातमा १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो।
यसमा असोज ७ गतेसम्म आवेदन दिने म्याद थियो। मागबमोजिम आवेदन नपरेपछि हकप्रदमा असोज २२ गते बैंकिङ समयसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो ।१०० रुपैयाँ अंकित मूल्यमा कम्पनीले १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद बिक्री खुला गरेको थियो ।
कम्पनीमा ५१ प्रतिशत सरकार र ४९ प्रतिशत सर्वसाधारणको सेयर स्वामित्व छ। हाल कम्पनीको चुक्तापूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयरपछि कम्पनीको चुक्तापूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ।
प्रतिक्रिया