दाङमा धान र मकैको उत्पादन बढ्यो

सोमबार, ०२ पुस २०८०, १४ : २५

काठमाडौं – नेपालकै सबैभन्दा ठूलो उपत्यका दाङमा यस वर्ष धान र मकैको उत्पादन पहिलेभन्दा बढेको छ । यस वर्ष एक लाख ५८ हजार तीन सय २८ मेट्रिक टन धान उत्पादन भएको छ । जिल्लामा ३९ हजार चार सय हेक्टरमध्ये यस वर्ष ३५ हजार एक सय ८४ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । गत वर्ष ३७ हजार एक सय ३० हेक्टर क्षेत्रफलमा धान लगाइएको भए पनि त्यस वर्ष एक लाख ५२ हजार दुई सय ३३ मेट्रिक टन धान उत्पादन भएको थियो ।

कृषि ज्ञान केन्द्रले दिएको जानकारी अनुसार यस वर्ष धान लगाइएको क्षेत्रफल घटे पनि उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ एवं सूचना अधिकारी पृथ्वीराज लामिछानेले बिउमा सुधार र गत वर्षको तुलनामा रासायनिक मलको उपलब्धताका कारणले धान रोपाइँको क्षेत्रफल घटे पनि उत्पादनमा वृद्धि भएको जानकारी दिनुभयो । ‘गत वर्ष रासायनिक मलको अभाव धेरै सुन्नु परेन भने हाइब्रिड बिउकै कारण उत्पादन बढेको हो’– उहाँले भन्नुभयो– ‘क्षेत्रफल घटे पनि उत्पादन बढेको छ ।’ उहाँका अनुसार गत वर्ष भन्दा यो वर्ष उत्पादकत्व पनि बढेको छ । गत वर्ष प्रतिहेक्टर ४ दशमलव एक मेट्रिक टन रहेकोमा यस वर्ष बढेर चार दशमलव पाँच पुगेको छ ।

बाह्रैमास सिंचाई सुविधा भएका, खोला आसपासका र दुई बाली फल्ने देउखुरीका अधिकांश खेतमा असारमै रोपाइँ सकिएको थियो भने दाङका सिंचाई नपुगेका बाँकी क्षेत्रमा साउन भरिमा रोपाइँ सकिएको थियो । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष जिल्लामा भारत तथा चीनबाट आउने हाइब्रिड बिउ ७५ प्रतिशत र बाँकी २५ प्रतिशत स्थानीय र उन्नत बिउ रोपिएको थियो । दाङमा यस वर्ष पाँच सय मेट्रिक टन हाइब्रिड, आठ सय मेट्रिक टन उन्नत र स्थानीय बिउ रोपिएको कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ लामिछानेले जानकारी दिनुभयो । उहाँले क्षेत्रफलको हिसाबले ६० प्रतिशत जमिनमा हाइब्रिड र ४० प्रतिशत जमिनमा उन्नत र स्थानीय धानको बिउ रोपिएको जानकारी दिनुभयो । कृषि ज्ञान केन्द्रका अनुसार दाङमा उत्पादन भएको धान बिउको रुपमा पनि प्रयोग हुन्छ । ‘गत वर्ष नासिक सीड कम्पनीले चैते ५ धान ६ सय २० क्वीन्टल बिउ बनाएको थियो’– उहाँले भन्नुभयो– ‘यस वर्ष पनि ७० मेट्रिक टन धानको उन्नत बिउ बन्दैछ ।’ उहाँले राम धान र राजा ४ को बिउ उत्पादन हुने जानकारी दिनुभयो । दाङमा धानको उन्नत बिउ उत्पादनका लागि गोर्खा सीड कम्पनीले पनि किसानमार्फत धान खेती गराउँदै आएको छ ।

धान उत्पादनको पाँचवर्षे तथ्याङ्क

पाँ‘च वर्षको आँकडाले सबै भन्दा धेरै धान रोपाइँ र उत्पादन आर्थिक वर्ष २०७८÷०७९ मा भएको देखाएको छ । वर्षे र चैते धान लगाइएको क्षेत्रफल र उत्पादन हेर्दा त्यतिबेला ३९ हजार चार सय हेक्टर क्षेत्रफलमा एक लाख ७३ हजार तीन सय ६० मेट्रिक टन धान उत्पादन भएको थियो तर त्यसै वर्ष बेमौसमी वर्षाले २७ हजार मेट्रिक टन धान नष्ट भएको थियो । आर्थिक वर्ष २०७७÷०७८ मा ३७ हजार नौ सय ८६ हेक्टर क्षेत्रफलमा एक लाख ५३ हजार आठ सय ७४ मेट्रिक टन धान उत्पादन भएको थियो । आर्थिक वर्ष २०७६÷०७७ मा दाङमा ३५ हजार पाँच सय ५६ हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदा एक लाख ४८ हजार नौ सय १३ मेट्रिक टन धान उत्पादन भएको थियो । अघिल्लो वर्ष २०७५÷०७६ मा ३५ हजार दुई सय ७६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदा एक लाख ४९ हजार तीन सय ४३ मेट्रिक टन धान फलेको थियो ।

२०७६ सालदेखि २०७८ सम्म धान लगाउने क्षेत्रफल र उत्पादन बढेकोमा त्यसयता भने ओरालो लागेको कृषि ज्ञान केन्द्रमा रेकर्ड छ । आर्थिक वर्ष २०७९÷०८० मा ३७ हजार छ सय ३० हेक्टर क्षेत्रफलमा एक लाख ५४ हजार दुई सय ४३ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष चैते धान रोप्नै बाँकी छ भने वर्षे धानको क्षेत्रफल घटे पनि उत्पादकत्व बढेको छ ।

मकैको उत्पादन पनि पहिलेभन्दा बढ्यो

 दाङमा मकै उत्पादन पनि बढेको छ । कृषि ज्ञान केन्द्रले दिएको जानकारी अनुसार यस वर्ष मकै खेतीको क्षेत्रफल र उत्पादन दुबै बढेको छ । उत्पादकत्व गत वर्षकै हाराहारीमा भएको कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार समयमै पानी नपर्दा रोपाईं ढिला भएकोले केही किसानले धान नरोपी मकै छर्नाले मकैको उत्पादन बढेको हो ।

‘समयमै पानी नपर्दा धान नरोपी किसानले मकै छरे जसका कारण धान रोपाइँको क्षेत्रफल घट्यो र मकैको क्षेत्रफल बढ्यो’– उहाँले भन्नुभयो– ‘धान रोप्ने जग्गामा मकै र तरकारी खेती पनि गरिएको छ ।’ यस वर्ष ५७ हजार नौ सय ५२ मेट्रिक टन वर्षे मकै उत्पादन भएको छ । १८ हजार एक सय १० हेक्टर क्षेत्रफलमा यस वर्ष वर्षे मकै लगाइएको थियो जबकि गत वर्ष १७ हजार सात सय ६३ हेक्टर क्षेत्रफलमा वर्षे मकै लगाइएको थियो । गत वर्ष दाङमा ५७ हजार एक सय २० मेट्रिक टन वर्षे मकै उत्पादन भएको थियो ।


 

सोमबार, ०२ पुस २०८०, १४ : २५

प्रतिक्रिया