काठमाडौं । सिबिफिनका अध्यक्ष पवन कुमार गोल्यानले १६औँ योजनामा वित्तीय क्षेत्र र निजी क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरेकाछन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को चौथो वार्षिक साधारण सभामा आफ्नो भनाई राख्दै उनले यस्तो धारणा राखेका हुन् । बैंक तथा वित्तीय क्षेत्रले आर्थिक वृद्धिदर तथा कुल गार्हस्थ उत्पादन बढाउनका लागि कसरी काम गर्न सक्छन् भन्ने कुरा १६औँ योजनामा समेटिनुपर्ने उनको भनाइ थियो ।
देशको प्रमुख पेशाका रुपमा रहेको कृषि क्षेत्रसँगै उद्योग, ऊर्जा तथा सेवा क्षेत्रको उत्थान र वृद्धिमा बैंक तथा वित्तीय क्षेत्रलाई सँगै लैजान आयोगसँग उनले आग्रह गरेका छन्। अध्यक्ष गोल्यानले सिबिफिनको पहलमा वैदेशिक रोजगारीमा गएकाहरुको लागि आईपिओमा १० प्रतिशत आरक्षणको व्यवस्था भएको बताएका छन्। योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा वैदेशिक रोजगारी तथा स्वरोजगारमा रहेका श्रमिकलाई समावेश गर्ने व्यवस्था पनि सिबिफिनको उपलब्धि रहेको उल्लेख गरे।
अध्यक्ष गोल्यानले समग्र अर्थतन्त्र सुधारका लागि पुँजीगत खर्च बढाउन सुझाव दिएका छन्। स्वदेशी वस्तु प्रयोग गर्नका लागि भएको नीतिगत व्यवस्थालाई अनिवार्य रुपमा कार्यान्वयन गर्नुपर्ने, उत्पादनमूलक, निर्यातमूलक एवं रोजगारीमूलक क्षेत्रलाई सहुलियतपूर्ण ब्याजदर कायम गरिनुपर्ने, नवप्रवर्तन, स्वउद्यमशीलताको विकास तथा घरेलु, साना तथा मझौला उद्यमी तथा उद्योगको सुधार तथा स्तरोन्नतिलाई प्राथमिकता दिन सिबिफिनको तर्फबाट गोल्यानले सुझाव दिएकाछन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रको सूचक चारैतिरबाट नकारात्मक बनेको भन्दै अर्थतन्त्र चलायमान बनाउन एकल अंकको ब्याजदर कायम हुनुपर्ने भनाई राखेका छन्। दोहोरो अंकको ब्याजदर रहेसम्म अर्थतन्त्रले गति नलिने मल्लको भनाई छ । उनले पञ्चवर्षीय योजनाअनुरुप सरकारको आर्थिक नीति हुनुपर्ने सुझाव दिएका छन्। त्यसो नहुँदा आर्थिक क्षेत्र चलायमान नहुने उनको भनाई छ
प्रतिक्रिया