काठमाडौँ — ललितपुरको बालकुमारीमा शुक्रवार प्रदर्शनका क्रममा ज्यान गुमाएका दुई युवकका परिवारलाई सरकारले १०–१० लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । शनिवार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले घटनामा मृत्यु भएका दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको परिवारलाई प्रति परिवार १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिएकी हुन।
बैठकले घटनामा घाइते भएकाहरूको उपचार खर्च सरकारले बेहोर्ने भन्दै शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । मन्त्री शर्माका अनुसार बैठकले घटनाका सम्बन्धमा निष्पक्ष छानबिन गरी कारबाही गर्न र भविष्यमा यस्ता घटना हुन नदिने निर्णय समेत गरेको छ ।
शुक्रवार पानीजहाज बनाउने कामका लागि कोरिया भाषा परीक्षा दिएका, तर फेल भएका युवाहरूले पुन: भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै ललितपुरको बालकुमारी क्षेत्रमा प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रहरीसँगको धरपकडमा दुई युवकको मृत्यु भएको थियो ।
घटनापछि शुक्रवारै सरकारले सत्य तथ्य छानबिन गर्न नेपाल प्रहरीका डिआइजी लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। मन्त्री शर्माले मन्त्रिपरिषद् बैठकमा घटनाबारे गम्भीर रूपमा छलफल भएको बताइन् । केही न केही कमजोरी भएर नै घटना भएको छ । त्यही कारण हाललाई छानबिन नटुङ्गिएसम्म गोली चलाउन आदेश दिने डिएसपी, मन्त्रीका पीएसओ र उपसचिव लगायतका कर्मचारीलाई निलम्बन गरिएको छ, मन्त्री शर्माले भनिन् ।
यस घटनामा सरकारले १० लाख दिएर पन्छिन खोजेको भन्दै यो चर्चाको विषय बनेको छ दुई जना रोजगारका निमित्त देश छोड्छु भनेका युवालाई राज्यव्यवस्थाले देश संसार नै छोडाई दिएको भन्दै केही प्रतिवक्ष राजनीतिक दल तथा विश्लेषकहरूले चर्को विरोध जनाएका छन् भने अर्कातर्फ सरकारले तत्काल राहत सम्बोधन गर्ने विषय तारिफयोग्य भएको भन्दै केही पार्टी तथा व्यक्तिले सरकारको सम्बोधनलाई सम्मान गरेका छन् ।
प्रतिक्रिया