चितवनमा सुन्तला महोत्सव

सोमबार, १६ पुस २०८०, ०९ : ५८

काठमाडौं–   सुन्तलाको बजारीकरण गर्ने उद्देश्यले चितवनको इच्छाकामना गाउँपालिकामा आजदेखि सुन्तला महोत्सव हुँदैछ  । गाउँपालिकाको आयोजनामा वडा नं ३ स्थित तोक्दाङ, ढाप, माझगाउँ, सिरानगाउँ, डोडेलगायत गाउँ  समेटेर सुन्तला महोत्सव हुन लागेको हो । सो महोत्सव तीन दिनसम्म चल्ने छ ।

 गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले स्थानीय किसानले उत्पादन गरेको सुन्तलाको बजारीकरण गर्ने उद्दश्यले महोत्सव आयोजना गरिएको जानकारी दिदै  भने, “महोत्सवमा आउने पर्यटकले आफैँ बोटमा चढेर सुन्तला टिपेर खान पाउने व्यवस्था गरेका छौँ ।” गाउँपालिकाभित्रका अत्यधिक सुन्तला उत्पादन हुने गाउँलाई समेटेर महोत्सव आयोजना गरिएको उनको भनाइ छ । 

महोत्सवमा विभिन्न प्रतियोगितासमेत आयोजना गरिने भएको छ । सुन्तला कसले धेरै खानसक्छ भन्ने प्रतियोगिता पनि गरिने आयोजकले जनाएको छ । महोत्सवको अवसरमा सुन्तला कृषकलाई विभिन्न सामग्री वितरण गर्ने, दक्ष कृषि प्राविधिकद्वारा रोगव्याधिसम्बन्धी तालिम दिने काम पनि महोत्सव गरिने छ । स्थानियले बनाएका परिकार पाहुनालाई खुवाउने तथा  स्थानिय चेपाङ तथा गुरुङ समुदायको कला संस्कृति झल्किने झाँकी प्रस्तुत गरिने छ । 

इच्छाकामना गाउँपालिका कृषि विकास शाखाका अनुसार यहाँका चार सय ५० भन्दा बढी किसानले यस वर्षमात्रै सुन्तला बिक्री गरी रु १० करोड आम्दानी लिने अनुमान गरिएको छ । अहिले किसानको बारीबाट सुन्तला प्रतिकिलो रु ७५ देखि रु ९० सम्ममा सुन्तला बिक्री हुने गरेको शाखा प्रमुख आशिष त्रिपाठीले जानकारी दिए । यस वर्ष यहाँ ८० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको छ । 

सोमबार, १६ पुस २०८०, ०९ : ५८

प्रतिक्रिया