काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शुक्रबार ललितपुरको बालकुमारी भएको युवाहरूको आन्दोलनको बिचमा नेपालका सरकारका मन्त्री किन पुगे भनेर प्रश्न उठाएका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा आयोजित कार्यक्रममा बोल्दै उनले मन्त्रीको कार्यशैली प्रति प्रश्न उठाएका हुन् ।
आन्दोलनका बिचमा पुगेका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालामाथि हातपात हुनुका साथै उनको गाडीमाथि आगजनी भएको थियो । आन्दोलनका क्रममा दुई जना युवकको मृत्यु समेत भएको थियो ।
महामन्त्री शर्माले प्रश्न गरे, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, विद्यार्थीहरूले प्रदर्शन गर्दै गर्दा, ईपीएस परीक्षा हामीले दिन पाउनुपर्छ भनेर प्रदर्शन गर्दै गर्दा, झण्डा हल्लाउँदै तपाईंको एकजना मन्त्री वार्ता गर्न जानु भएको थियो रु के कार्यका लागि त्यो जरुरी थियो रु’
उनले आफ्नो पार्टी सरकारमा सहकार्यमा रहेको बताउँदै राज्य सञ्चालनमा सरकारलाई अझ गम्भीर बनाउन जरुरी रहेको विषयमा जोड दिए । उनले राज्य सञ्चालनको लागि र जनतामा वितृष्णा नहुने साझा दृष्टिकोणका लागि सबै दलहरूबिच सहकार्य जरुरी छ । उनले देशको सहकार्यका लागि तीन सूत्र पेस गरे – सुशासन, सुशासन र सुशासन ।
शर्माले अझै पनि दलहरूको बिचमा सहकार्य जरुरी रहेको विषय औँल्याए । उनले भने, ‘राजनीतिक कार्यभार पुरा भए पनि पनि संविधानलाई कार्यान्वयन गर्न, संघीयतालाई बलियो बनाउन, सम्मुनतिको गति बढाउन र जनतामा देश प्रतिको आस्था र विश्वास बढाउन शान्ति प्रक्रिया र संविधान निर्माणमा सहकार्य गरेका दलहरू एक ठाउँमा उभिन जरुरी छ । त्यस्तै नयाँ दललाई पनि विश्वासमा ल्याएर मुलुकलाई नयाँ मनोबल दिन आवश्यक छ ।’
प्रतिक्रिया