सहकारी ठगीमा माओवादी कार्यकर्ता पनि संलग्न

सोमबार, १६ पुस २०८०, १६ : ४७

काठमाडौं – माओवादी सत्तामा रहेको बेला एकथरी माओवादीहरु सत्ताको आडमा अबैध आर्थिक खेलोमेलोमा लागेको थाहा हुन आएको छ । तिनैमध्येका एक हुन सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष कैलाशकुमार दर्लामी । सहकारी ठगी प्रकरणमा उनी पक्राउ परिसकेका छन्।
कैलाश रामेछापको लिखु तामाकोसी गाउंपालिकाको वडा नं. ७ मा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षमा विजयी उम्मेदवार हुन । उनले प्रधानमन्त्रीकी कान्छी छोरी गंगा दाहालसंग आफ्नो राम्रो राजनीतिक पहुंच रहेको बताउंदै आएका छन् । गंगाकै आडमा उनले ‘आर्थिक क्रान्ति’ गरेको माओवादी वृत्तमा चर्चा चल्ने गरेको छ । उनी दिपेश पुनका पनि व्यवसायिक पार्टनर भएको बताइन्छ ।  
पोखरा महानगरपालिका वडा नम्बर ४ नालाकोमुखमा संचालनमा रहेको सहकारीका पदाधिकारीले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरेको र हिनामिना गरेको भन्दै ठगीको उजुरी परेको थियो।
बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ भन्दा बढी ठगी गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ। अनुसन्धानपछि तयार गरेको प्रतिवेदनअनुसार १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार रुपैयाँ ठगी गरेको खुल्न आएको हो। गत साउन २२ गते उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको थियो।

१ हजार ३६ जनाले आफू ठगिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए। जसमा सहकारीका कोषाध्यक्ष कुमार रम्तेल पनि पक्राउ परिसकेका छन्। प्रहरीले अध्यक्षसहित १९ जनालाई प्रतिवादी बनाएको छ। सहकारीका सञ्चालक गितेन्द्रबाबु राई (जीबी) भने फरार छन्। उनी मलेसियामा लुकेको प्रहरीको शंका छ।
 

सोमबार, १६ पुस २०८०, १६ : ४७

प्रतिक्रिया