सूर्यदर्शन सहकारीका उपाध्यक्ष दर्लामी पुर्पक्षका लागि थुनामा

बुधबार, १८ पुस २०८०, ०९ : ३८

काठमाडौं – सूर्यदर्शन बचत तथा क्रण सहकारी संस्थाका उपाध्यक्ष कैलाशकुमार दर्लामीलाई कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । अदालतमा सोमबार थुनछेक बहस सकिएसँगै न्यायाधीश रामचन्द शर्माको एकल इजलासले दर्लामीलाई धरौटीमा छाड्न इन्कार गर्दै थुनामा पठाउने आदेश दिएको हो ।
रामेछापको लिखु तामाकोसी गाउँपालिका– ७ घर भएका दर्लामीलाई १२ पुसमा रामेछापबाट पक्राउ गरी पोखरा ल्याइएको थियो । दर्लामीसँगै सहकारीको रकम ठगी गरेको आरोप लागेका १९ मध्ये दुईजना थुनामा पुगेका छन् । यसअघि पक्राउ परेका सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई कास्की अदालतले २१ असोजमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । दर्लामी माओवादी केन्द्रबाट लिखु तामाकोसी गाउँपालिकाका वडा अध्यक्ष समेत हुन ।
सहकारीमा भएको ठगीका सम्बन्धमा पोखरा महानगरपालिकाबाट आवश्यक कारबाहीका लागि ३ साउनमा पत्र प्राप्त भएपछि आवश्यक अध्ययन गरी कास्की प्रहरीले मुद्दा दर्ता गरेको थियो । प्रहरीले गरेको उजुरी मागपछि एक हजार ३६ बचतकर्ताको जाहेरी परेको थियो । जाहेरीमा ठगिएको रकम एक अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ पुगेको थियो ।


 

बुधबार, १८ पुस २०८०, ०९ : ३८

प्रतिक्रिया