नेपाल इन्जिनियरिङ कलेजबाट अध्ययन पुरा गरेका विद्यार्थीहरूलाई बिदाइ

४ महिना अगाडि

काठमाडौँ राजधानीको नेपाल इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङ र सिभिल एन्ड रुरल इन्जिनियरिङको अध्ययन पुरा गरेका विद्यार्थीहरूलाई बिदाइ गरिएको छ ।

शुक्रवार कलेजले सिभिल इन्जिनियरिङ र सिभिल एन्ड रुरल इन्जिनियरिङका १८ औँ ब्याचका १९२ जना विद्यार्थीहरूलाई बिदाइ गरेको हो । कलेजको स्नातक अध्ययन पुरा गरी बिदा हुनेहरूमा सिभिल इन्जिनियरिङमा १४४ तथा सिभिल एन्ड रुरल इन्जिनियरिङमा ४८ जना रहेका छन् ।

बिदाइ कार्यक्रममा बोल्दै वक्ताहरूले मुलुकको विकासमा दक्ष जनशक्तिको खाँचो रहेको औँल्याउँदै उत्पादित जनशक्तिहरूलाई स्वदेशमै बसेर काम गर्न सुझाए । इन्जिनियरिङका क्षेत्रमा नयाँ नयाँ अवसरहरू सृजना गर्नुपर्ने तथा स्वदेशमै स्नातक पछिको उच्च शिक्षा हासिल गर्ने वातावरण राज्यले बनाउनुपर्नेमा उनीहरुले जोड दिए । राज्यले उत्पादित जनशक्ति व्यवस्थापनमा चासो नदिँदा युवाहरू पलायन भइरहेको भन्दै वक्ताहरूले नेपालमा अब मेगा प्रोजेक्टहरू सञ्चालन गरिनुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका डीन डाक्टर राजेश ठकूराठीले विद्यार्थीहरूलाई इन्जिनियरिङका जुनसुकै पेशा व्यवसायमा आबद्ध हुँदा त्यो पेशा र व्यवसायको इथिक्स र मर्यादा राखेर काम गर्न सुझाए ।

"जुन जुन पेशा व्यवसायमा आबद्ध हुन जाँदै हुनुहुन्छ त्यो पेशा व्यवसायको इथिक्सलाई मेन्टेन गरिदिनुहोला, अनुशासन मेन्टेन गरिदिनुहोला, जसले गर्दा पहिलो नम्बरमा कलेज दोस्रो नम्बरमा विश्वविद्यालयको सानलाई उच्च राख्न तपाईंहरुको योगदान हुन्छ ।" पोखरा विश्वविद्यालयबाट अध्ययन पुरा गरेका जनशक्तिहरू देश विदेशमा राम्रा संस्थाहरूमा काम गरेको, व्यवसाय गरेको, सफल भएको उदाहरणहरू रहेको डीन ठकूराठीले बताए ।

डीन ठकूराठीले नेपालको शिक्षा प्रणाली खासगरी विश्वविद्यालयका पाठ्यक्रमहरू समयानुकूल नभएको केही हदसम्म स्वीकार्दै कामै नलाग्ने भन्ने नभएको जिकिर गरे । ‘पाठ्यक्रम नराम्रो हैन । सुधार्न जरुरी छ ।’ पाठ्यक्रम सुधार गर्नुपर्ने, विद्यार्थीमैत्री बनाउनु पर्ने, अर्निङ र लर्निङ सँगसँगै लैजानु पर्ने भए पनि विश्वविद्यालयले सोचेअनुसार गर्न नसकेको डीन ठकूराठीको भनाई छ ।

नेपाल इन्जिनियरिङ काउन्सिलका उपाध्यक्ष डा.विकास अधिकारीले पछिल्लो समय नेपालमा इन्जिनियरिङ शिक्षामा विद्यार्थीहरू घट्दै जानुमा विद्यार्थीहरूको भन्दा पनि राज्यको भूमिका बढी जिम्मेवार रहेको बताए । कक्षा एकमा सय जना विद्यार्थी भर्ना हुँदा १२ कक्षासम्म पुग्दा ६० जना मात्र हुन आउने बताउँदै उपाध्यक्ष अधिकारीले करिब ४ लाख विद्यार्थीले कक्षा १२ को परीक्षा दिँदा ५० प्रतिशत उत्तीर्ण भएकोमा ती मध्ये अधिकांश विदेश पढ्न जानु चिन्ताजनक रहेको जिकिर गरे ।

‘४ लाखले परीक्षा दिँदा २ लाख उत्तीर्ण भए, ती मध्ये १ लाख २५ हजार विद्यार्थी नो अब्जेक्सन लेटर लिएर विदेश जान तम्तयार भएर बसेका छन् ।’ ७५ हजार विद्यार्थी मध्ये २० हजार प्राविधिक शिक्षा लिन योग्य रहेकोमा इन्जिनियरिङ शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या ५ हजार मात्रै रहेको उनको दावी छ । काउन्सिलले देशभरका इन्जिनियरिङ कलेजहरूमा १० हजारको हाराहारीमा विद्यार्थी पढाउन अनुमति दिए पनि ५० प्रतिशत विद्यार्थीहरू मात्र उपलब्ध हुनुमा विद्यार्थीको भन्दा पनि पोलिसी लेबलमै कमजोरी रहेको जनाए ।

कार्यक्रममा बोल्दै कलेजका कार्यवाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीले विद्यार्थीहरू नै कलेजको ब्रान्ड एम्बेष्डर भएको बताउँदै आ–आफ्नो विषयमा इमानदार भएर काम गर्न आग्रह गरे । आचारसंहितामा रहेर व्यावसायिक जीवन अगाडी बढाए हरेक क्षेत्रमा सफलता प्राप्त गर्न सकिने भन्दै कलेजलाई समय–समयमा सल्लाह सुझाव दिन भने ।

नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा गठित कलेज सञ्चालन समिति सदस्य दिनेश खनालले विद्यार्थीहरूले कलेजमा हासिल गरेका ज्ञान, सीपलाई सबैभन्दा पहिला आफ्नै मातृभूमिमा प्रयोग गर्न सुझाए । कार्यक्रममा विद्यार्थी तानिया लामिछाने, सङ्गीता रानाभाट, आस्था ढुङ्गाना, दिनेशकुमार यादव लगायतले कलेजमा अध्ययन गर्दाका अनुभवहरू सुनाएका थिए । कार्यक्रममा सिभिल इन्जिनियरिङ विभागका प्रमुख रमेश खनाल, सिभिल रुरल इन्जिनियरिङ विभागका प्रमुख अनिल श्रेष्ठ, एशोसिएट प्रोफेसर सचिन श्रेष्ठले इन्जिनियरिङ विषय, सम्भावना र अवसरका बारेमा बोलेका थिए ।

बिदाइ कार्यक्रममा सङ्गीता रानाभाटलाई सिभिल एन्ड रुरल इन्जिनियरिङ, वाटर एन्ड स्टक्चर अवार्ड दिइएको थियो भने उनले नितिन कर्णसँग संयुक्त रुपमा सिभिल साइन्स अवार्ड पनि प्राप्त गरिन् ।  त्यस्तै, अञ्जली पाण्डेलाई चेयरमेन प्राइड गोल्ड अवार्ड, आस्था ढुङ्गानालाई सिभिल प्रोगाम टपर अवार्ड, सुस्मी श्रेष्ठलाई सिभिल साइन्स अवार्ड तथा अजय कुमार यादवले जियो–टेक अवार्ड प्राप्त गरेका थिए ।

४ महिना अगाडि

प्रतिक्रिया