सार्वजनिक खरिद ऐनलाई छिट्टै विकासमैत्री ऐनको रुपमा परिमार्जन गर्छौंः मन्त्री ज्वाला

शनिबार, २१ पुस २०८०, १७ : ०२

काठमाडौँ - भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐन छिट्टै परिमार्जन हुने बताएका छन् । मन्त्री ज्वालाले विकास, निर्माणको काममा समस्या उत्पन्न गरेकाले त्यसलाई सरकारले छिट्टै समयानुकूल हुनेगरी परिमार्जन गर्नका लागि मन्त्रिपरिषद्मा पेश गरिएको पनि जानकारी दिए ।नेपाल ट्रक यातायात व्यवसायी महासंघले शनिवार सानेपामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आगामी संसद अधिवेशनमा त्यसलाई विधेयकमा रुपमा सरकारले पेश गर्ने समेत बताए । विकासमैत्री ऐन मुलुकका लागि आवश्यक भएकाले पनि सरकारले सो ऐन बनाउने काममा ढिलाई नगर्ने मन्त्री ज्वालाको भनाई थियो । 

 ‘विकास, निर्माणको सवालमा सबैभन्दा मुख्य रुपमा सार्वजनिक खरिद ऐन जो धेरै वर्ष अगाडि बन्यो । समय धेरै परिवर्तन भयो । परिस्थिति चेन्ज भयो । अहिले विज्ञान, प्रविधिको युगमा हामी छौं’ उनले भने, ‘तर पुरानै अवस्थाको चाहीँ खरिद ऐन हामीले बोक्नु परिरहेको छ । त्यसैबाट हामी चल्नुपरेको छ । गाइडिङ हुनुपरेको छ । त्यसले पनि समस्या उत्पन्न गरेको छ । अव हामीले छिटो गरौं भनेर अब त्यो क्याविनेटसम्म पुगेको छ । नयाँ खरिद ऐन आउँछ । अहिलेको समसामयिक सन्दर्भहरुलाई सम्बोधन गर्नेगरी विकासमैत्री ऐनको रुपमा हामीले ल्याउँदैछौं । केही समय पछि हामी त्यो पार्लियामेन्टमा पेश गर्छौं ।’

 मन्त्री ज्वालाले यातायात व्यवसायीहरुको माग सम्बोधन हुनेगरी सार्वजनिक सडकसम्बन्धि कानून र सवारी तथा यातायात सम्बन्धि कानुनलाई नयाँ रुपमा अगाडि बढाउनुपर्छ भनेर आफू प्रयासरत रहेको समेत बताए । मन्त्री ज्वालाले यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि कानूनी रुपमै धेरै विषयहरु सम्बोधन गर्नुपर्ने भएकाले सरकारले त्यसलाई प्राथमिकताका साथ अघि बढाएको दाबी समेत गरे ।

शनिबार, २१ पुस २०८०, १७ : ०२

प्रतिक्रिया