काठमाडौं – रामेछाप मन्थली नगरपालिका – ७ का अर्जुन प्रसाद प्रसाइको अहिले बानेश्वरको सानो गल्लीमा बास भएको छ । उमेरले उनी अहिले ६० वर्षका भए । काठमाडौंको कठ्यांग्रिने जाडोमा उनी पातलो कम्बल ओडेर सुतेका भेटिन्छन् । अंग्रेजी साहित्य र नेपाली साहित्यमा स्नातकोत्तर गरेका प्रसाइसँग प्राविदेखि माविसम्मका स्थायी शिक्षक हुँदै क्याम्पसमा प्राध्यापन गरेको अनुभव पनि छ ।
अविवाहित रहेका प्रसाई धर्म र अध्यात्मका पनि ज्ञाता रहेछन् । उनले कहिले पनि सोचेका थिएनन् आज सडकको बास होला भनेर । उनको यो अवस्था अरु कुनै कारणले भएको होइन , सहकारीले उनको सबै सम्पत्ति खाइदिएपछि यस्तो भएको हो । उनको भनाइ अनुसार हाम्रो भविष्य र शुभ समृद्धी नामक सहकारीले १८ लाख भन्दा बढी रकम फिर्ता गरेनन् । यो रकम उनले जागिरबाट आर्जन गरेको र जग्गा बेचेर जम्मा गरेको हो । यो पैंसाले काठमाडौंमा जग्गा किन्ने उनको योजना थियो । सहकारीले ठगेपछि उनको योजना भताभुंग भयो । उनी नयाँ बानेश्वर स्थित सहकारी विभागमा पुगेर निवेदन पनि दिए । विभागले पनि न्याय दिन सकेन । सहकारी सञ्चालकहरु भागे । हाम्रो भविष्य सहकारीको ऋण इन्चार्जले त उनलाई ,‘ तँ एक्लो बुढोले के गर्न सक्छस ? जहाँ गए पनि जा, तेरो पैंसा दिन्न’ भने । त्यसपछि उनको बास यही गल्ली भएको छ ।
प्रतिक्रिया