एमयुलाई बागेश्वरी क्याम्पसको खबरदारी

विहीबार, २६ पुस २०८०, १३ : १२

    काठमाडौं – सुर्खेतस्थित मध्यपशिचम विश्वविद्यालयमा तालाबन्दी भएको महिनौं भैसकेको छ । उता उपकूलपति प्रा.डा. नन्द बहादुर सिंहको कार्यकाल सकिन झण्डै डेढ महिना मात्र बाँकी छ । विश्वविद्यालयमा भद्रगोल भैरहेकोबेला रजिष्ट्रार नारायण प्रसाद पौडेललाई भिसीले सात  दिने स्पष्टिकरण सोधेर अर्को तरङ्ग ल्याइदिए । आन्दोलनकारी प्राध्यापक संगठनहरुसँग दर्जनौं पटक बार्ता भए पनि भिसी टसकोमस नभएपछि केन्द्रीय कार्यालयमा लगाएको ताला खुल्न सकेको छैन । भिसी भने फेरि पनि भिसीको नियुक्ति लिएर सबैलाई तह लगाउने भन्दै राजधानीतिर चहार्दै गरेको बताइन्छ । यही भद्रगोलको बीचमा एमयुकै आंगिक क्याम्पस वागेश्वरी बहुमुखी क्याम्पसमा क्रियाशील तीन प्राध्यापक संगठनहरुले संयुक्त विज्ञप्ति निकालेर चार बुँदे माग तेर्साएका छन् । 
नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष जयकृष्ण न्यौपाने, प्रजातन्त्रवादी प्राध्यापक संगठनका अध्यक्ष एकराज शर्मा र नेपाल प्रगतिशील प्राध्यापक संगठनका का. बा. अध्यक्ष राजेश थापाले पुस २५ गते संयुक्त विज्ञप्ति प्रकाशित गरी आफ्ना पेशागत मागहरुका साथै मध्यपश्चिम विश्विद्यालयलाई प्रदेश मातहत राख्न खोजिएको प्रपञ्चप्रति तीब्र आपत्ति जनाएका छन् । उनीहरुले विज्ञप्तिमा भनेका छन, ‘ वागेश्वरी क्याम्पस कोहलपुर मध्यपश्चिम विश्वविद्यालयमा समायोजन भए संगै यस क्याम्पसमा रहेका तमाम समस्याहरु तत्काल विधी संम्मत समाधान हुनु पर्ने र सम्पूर्ण विश्वविद्यालयका हरेक गतिविधिहरु कानुन, नीति र विधी अनुसार सञ्चालन हुनु पर्छ भन्ने हाम्रो दृढ विश्वास रहेको छ । आंगिक क्याम्पस समायोजन हुँदा विश्वविद्यालयको आठौ सिनेट बैठकले गरेको निर्णय र नियमावलीका आधारमा क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरुलाई कार्यरत साविक पदमा यथावत समायोजन हुनुपर्नेमा विविध कारण देखाई लामो समय देखी कार्यरत प्राध्यापक तथा कर्मचारीहरु हालसम्म पनि करार, आंशिक  र घटुवा पदमा रहनु परेको अवस्था जगजाहेर नै छ । यस खालका तमाम समस्यालाई मध्येनजर नगरी विगत केही समय अगाडि देखि मध्यपश्चिम विश्वविद्यालयको गरिमा र साखलाई कमजोर बनाउने र विश्वविद्यालयको प्राज्ञिक र शैक्षिक गतिविधिमा गतिरोध सिर्जना गर्ने जस्ता कार्यहरु विभिन्न पक्षबाट निरन्तर भईरहेको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । पछिल्लो समय विश्वविद्यालयमा विकसित भएका समस्याहरुलाई समाधान गर्न सम्बन्धित सरोकारवाला पक्षहरु बीच आपसी संवाद, छलफल, सहमति र सहकार्यमा आधारमा टुंग्याउनु हुन सम्पुर्ण सरोकारवाला पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं । यसका लागि तपसिलका मागहरु तत्काल सम्बोधन गर्न सम्बन्धित निकायको ध्यान जाने विश्वास लिएका छौँ ’
विज्ञप्ति मार्फत सार्वजनिक गरिएका मागहरु ः
१. आंगिक क्याम्पसमा रहेका करार प्राध्यापक तथा कर्मचारीहरुलाई नियमावलीमा भएको व्यवस्था अनुसार तत्काल विशेष आन्तरिक प्रक्रियाद्धारा स्थायी गर्नुपर्ने । विगत लामो समय देखी कार्यरत आंशिक प्राध्यापक र कर्मचारीहरुलाई करार बनाउनु पर्ने र समायोजनमा घटुवामा परेका प्राध्यापक तथा कर्मचारीहरुलाई साविक पदमा बढुवा गर्नु पर्ने । 
२. आंगिक क्याम्पसहरुमा लामो समयदेखि कार्यरत स्थायी सेवामा कार्यरत प्राध्यापकहरुलाई पदोन्नति, वृत्तिविकास र पेशागत उन्नयनको प्रक्रिया बढाउनु पर्ने । 
३. विगत केही समय देखी  विभिन्न सरोकारवाला पक्षद्धारा विश्वविद्यालयमा गरिएको आन्दोलनले प्रत्यक्ष र परोक्ष रुपमा विश्वविद्यालय र आंगिक क्याम्पसमा रहेका समस्यालाई समाधान गर्न बाधा उत्पन्न भएकाले तत्काल सरोकारवाला सम्पूर्ण पक्षहरुले वार्ता तथा संवादका माध्यमबाट समस्याको समाधान यथासिघ्र गर्न हुन ।
४. भर्खरै नेपाल सरकारद्धारा प्रस्तावित उच्च शिक्षा विध्ोयक, २०८० मा विश्वविद्यालयको वर्गिकरण गर्दा  हाम्रो विश्वविद्यालय लगायत अन्य संघिय विश्वविद्यालयहरुलाई प्रादेशिक विश्वविद्यालयमा बनाउने गरी प्रस्तावित गरिएकाले उक्त प्रस्तावप्रति हाम्रो गम्भिर असहमती जनाउदै संघिय विश्वविद्यालयमै कायम राख्नका लागि सरोकारवाला पक्षहरुको ध्यानाकर्षण गर्न चाहन्छौ ।  

विहीबार, २६ पुस २०८०, १३ : १२

प्रतिक्रिया