लाखौँ रकम लुटपाट गरि फरार भएका ३ जना पक्राउ

५ बर्ष अगाडि

काठमाडौँ – लुटपाट घटनामा संलग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं चन्द्रागिरी नगरपालिका-८ मातातीर्थ बस्ने ३८ वर्षीय नवराज तामाङ, काठमाडौं नैकाप बस्ने नुवाकोट घर भएका २८ वर्षीय दिपेश भन्ने सन्तबहादुर तामाङ र काठमाडौं मातातिर्थ बस्ने ३६ वर्षीय बिक्रम श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । 

गत चैत २६ गते दिउसो काठमाडौं महानगरपालिका-२९ रानीबारी बस्ने लालेन्द्र शेरचन, उनको श्रीमती भानुदेवी शेरचन तथा घर रेखदेख गर्ने मिठु थकाली समेत तीन जनालाई धारिलो हतियार खुकुरी, रड समेत देखाई नियन्त्रणमा लिई  विभिन्न गरगहना र नगद समेत गरी जम्मा करिब ५ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल उनीहरुले लुटपाट गरि फरार भएका थिए । 

फरार अभियुक्तहरुलाई महानगरीय अपराध महाशाखा कठमाडौंबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौंका विभिन्न स्थानबाट फेला पारी पक्राउ गरेको हो । 

साथै प्रहरीले पक्राउ परेकाहरुको साथबाट सुनको तिलहरी, लुटपाटमा प्रयोग भएका बा.२ ज ३०६१ नम्बरको ट्याक्सी र बा.३ च ७१६४ नम्बरको जिप समेत बरामद गरेको छ । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया