हामीलाई निर्णय गर्ने अधिकार भएनः उपप्रमुखहरु

५ बर्ष अगाडि

काठमाडौँ– स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिले आफूहरुले अधिकार प्रयोग गर्न नपाएको गुनासो गरेका छन् । 

मनरा सिसवा गाउँपालिका महोत्तरीका उपप्रमुख रमिता प्रधानले महिला ल्याउनुपर्ने बाध्यताले मात्र उपप्रमुख पदमा ल्याइएको भन्दै आफूहरुको अधिकार पनि प्रमुखले प्रयोग गर्ने गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “महिलालाई निर्वाचनमा सहभागी गराएर पनि अर्थपूर्ण निर्णय प्रक्रिया, स्थानीय सरकारको काम कर्तव्यबारे बुझाइएन, सबै काम प्रमुखले गरेपछि उपप्रमुख नामका मात्र भएको अवस्था छ ।” 

पहिलेदेखि राजनीतिमा नभएकाले महिलालाई जनप्रतिनिधि हँुदा चुनौती भएको उल्लेख गर्दै नेतृत्व अभिवृद्धि, कार्यक्षमता विकासका तालीम आवश्यक भएको उहाँको भनाइ छ । 

कमलामाई नगरपालिकाका उपप्रमुख मन्जु देवकोटाले उपप्रमुखलाई कुनै पनि निर्णय गर्ने अधिकारबाट वञ्चित गरिएको दुखेसो गर्नुभयो । 

केही समितिको जिम्मेवारी दिए पनि निर्णयको अधिकार प्रमुखले नै गर्ने भएकाले काम गर्न गाह्रो भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई अझै उपप्रमुखको काम कर्तव्यबारे पर्याप्त जानकारी अभिमुखीकरण आवश्यक छ, सबै सुविधा प्रमुखलाई दिइएको छ तर हामीलाई समितिका लागि आवश्यक कर्मचारी व्यवस्थापन हुन सकेको छैन ।”

५ बर्ष अगाडि

प्रतिक्रिया