आयल निगमले ट्यांकी नबनाउँदा पाइपबाट आएको तेल भण्डारणमा समस्या

४ बर्ष अगाडि

नेपाल आयल निगमले समयमै भण्डारण ट्यांकी नबनाएपछि पाइपलाइनबाट आएको डिजेल भण्डारणमा समस्या भएको छ । 

भारतीय आयल कर्पोरेसन (आईओसी) र नेपाल आयल निगमबीच भएको सम्झौता अनुसार निगमले बनाउनुपर्ने ८२ लाख लिटर क्षमताका ट्यांकी नबनाउँदा भण्डारणमा समस्या भएको हो ।

आईओसी र निगमको सम्झौताअनुसार ३ अर्ब २४ करोड भारतीय रुपैयाँ लगानीमा निर्माण भएको पाइपलाइन अन्तर्गत  निगमले करिब ७५ करोड भारतीय रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको थियो ।

जस अनुसार निगमले ४१ लाख लिटर क्षमता (४१ सय केएल) दुई ट्यांकी निर्माण गर्नुपर्ने थियो । 

भारतको मोतीहारीदेखि नेपालको अमलेखगञ्जसम्म निर्माण भएको  पेट्रोलियम पाइपलाइन भदौ २४ मा उद्घाटन भएको थियो ।

पाइपलाइनमा तेल आउन थालेदेखि अहिलेसम्म चार करोड ६० लाख लिटरभन्दा बढी डिजेट आइसके पनि    नेपालले ट्यांकी निर्माण गरेको छैन । 

अहिले अमलेखगन्जमा  २ करोड ४० हजार लिटर डिजेल भण्डारण गर्ने ट्यांकी छन् । जसमध्ये एउटा मटितेलका ट्यांकीलाई स्तरोन्नति गरिएको हो । 

अमलेखगञ्जमा पेट्रोल १९ लाख ३० हजार र मटितेल १५ लाख लिटरको क्षमता छ । 

निगमका कार्यकारी निर्देशक  सुरेन्द्र पौडेलले अमलेखगन्जमा रहेको १० बिघा जग्गामा  करिब ८ हजार किलोलिटर भण्डारण छिट्टै बनाउने बताए । ‘एक महिनामा काम सुरु हुन्छ ’, उनले भने ।

यसका लागि आईओसीसँग छलफल भइसकेको उनको भनाइ छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया