मृतक परिवारलाई क्षतिपूर्ती

४ बर्ष अगाडि

सङ्खुवासभाको सभापोखरी गाउँपालिका–६ मा करेन्ट लागेर मृत्यु भएका परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराएको छ ।  

विद्युत् प्राधिकरण खाँदबारी वितरण केन्द्रले करेन्ट लागेर मृत्यु भएका सभापोखरी–६ का भुपाल विश्वकर्माको परिवारलाई रु पाँच लाख १५ हजार क्षतिपूर्तिबापत उपलब्ध गराएको हो । यसअघि प्राधिकरणले किरिया खर्च बापत मृतक परिवारलाई रु १५ हजार उपलब्ध गराई सकेको छ । गत वैशाख १८ गते सभापोखरी गाउँपालिका–६ स्वाचीमा हाइभोल्टेज गएपछि करेन्ट लागेर विश्वकर्माको मृत्यु भएको थियो । 

सो घटनामा अन्य पाँचजना घाइते भएका थिए । करेन्टबाट घाइते भएकी तारा विश्वकर्मालाई रु नौ हजार ६८३, भगवती विश्वकर्मालाई रु १३ हजार ५९७, मञ्जु तिरुवालाई रु ६ हजार ७२५, धनमान लिम्बूलाई रु नौ हजार र कुलबहादुर विश्वकर्मालाई रु ६ हजार ८२५ उपलब्ध गराएको केन्द्रका प्रमुख रामअशिस साहले जानकारी दिए। 

पीडितहरुलाई नेपाल विद्युत् प्राधिकरण विद्युत् दुर्घटना क्षतिपूर्ति विनियमावली २०७६ को विनियम १२ को आधारमा क्षतिपूर्ति उपलब्ध गराएको खाँदबारी वितरण केन्द्रले जनाएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया