शेयर बजार घट्नुको कारण अर्थमन्त्री होइनन्, राष्ट्र बैंकको कम्जोर नीति होः रविन्द्र भट्टराईको बिश्लेषण

४ बर्ष अगाडि

रविन्द्र भट्टराई​

काठमाडौं – नेपालको सेयर बजारको इतिहासकै उच्चतम विन्दुमा पुगेर नेप्से घट्न थालेको तीन बर्ष भन्दा बढी भएको छ । २०७३ साउन १२ गते १८८१.४५ अंकमा पुगेको थियो नेप्से । त्यो विन्दुलाई आधार बनाएर हेर्ने हो भने ११ सय विन्दु नजिकमा आइ पुग्दा ७७२ अंक अर्थात ४१ प्रतिशत बराबरले बजार घटेको छ । दक्षिण तर्फको यात्रामा नेप्सेले अझै विराम लगाउन सकेको छैन । बजारको यो गिरावट २०६५ देखि २०६८ को गिरावटको तुलनामा भने निकै कम हो । यसको अर्थ सेयर बजार सोहि अनुसार घट्नु पर्छ भन्ने अवस्य होइन ।

यो तीन बर्षको मूल्यांकन गर्दा ९ महिना अघि नेप्से ११०० विन्दु सम्म झरेर १३०० सम्मको उकालो यात्रा तय गरेको थियो । यसको अर्थ तीन बर्षको अवधिमा बजार निरन्तर घट्यो भनेर भन्ने अवस्था छैन । बजारले आफ्नो प्राकृतिक नियमलाई भने पूर्णरुपमा अवलम्बन गरेको छ । बजार यसरी घट्नुमा धेरैले बर्तमान अर्थमन्त्रिलाई दोश दिन्छन । उनले बजारलाई सहि व्यवहार नगरेको वा बजार प्रति सकारात्मक नभएको गुनासो सुन्ने गरिन्छ । यथार्थमा बर्तमान अर्थमन्त्रिका ठाँउमा अर्को कुनै व्यक्ति अर्थमन्त्रि भए पनि बजार घट्ने नै थियो । बजारको वियरिस प्रवृत्तीको प्रमुख कारक बर्तमान अर्थमन्त्रि र उनको व्यवहार भन्दा पनि बढी नेपाल राष्ट्र बैंकको पुँजि बृद्धि सम्बन्धि नीति र व्याज दर नियन्त्रण सम्बन्धि कमजोर रणनीति हो ।

२०६५ पछि २०६८ सम्म पनि सेयर बजारमा यस्तै अवस्था सिर्जना भएको थियो । जव बैंक तथा वित्तीय संस्थाले तोकिए अनुसारको पुँजि बृद्धि गर्दै गए अनि बजारमा वियरिस प्रवृत्ति देखा पर्यो र नेप्से ११७५ बाट २९२ सम्म झर्यो । त्यसबेला अर्थमन्त्रि बाबुराम भट्टराइ थिए । उनले सेयर बजारलाई जुवाको संज्ञा दिए भनेर सेयर बजार घट्यो भन्नेको कमि छैन । तर यर्थाथता त्यसबेला पनि पुँजि बृद्धिको असर सेयर बजारमा परेको थियो । अहिलेको कारण पनि त्यहि हो । चार गुणाले पुँजि बढाए पछि सैद्धान्तिक रुपमा सेयर मूल्य चार गुणाले तल आउने हो तर चार गुणाले माथि जाने हैन । व्यबहारिक रुपमा केहि भिन्नता हुन सक्छ । अहिले भएको यहि हो ।
वित्तीय क्षेत्रको बाहुल्य रहेको बजारमा नेतृत्वकर्ता क्षेत्र ओरालो लागेपछि अन्य क्षेत्रपछि लाग्नु वा त्यो भन्दा अघि लागेर घट्नु पनि अस्वभाविक हैन । बजारको सिद्धान्त नै यहि हो कि मूल्य घट्न थाले पछि नराम्रा छिटो घट्छन राम्रा अलिक ढिला घट्छन । अहिले बजार लाई राम्ररी मूल्यांक गर्यौ भने यहि पाउन सकिन्छ ।
यस्तै अर्को महत्वपूर्ण कुरा जव नेपाल राष्ट्र बैंकले पुँजि बृद्धिको नीति ल्याउछ त्यहि बेला बैंकिग क्षेत्रमा तरलताको समस्या देखा परेको छ । जसले व्याजदर लाई माथि धकेलि दिएको पाइन्छ । जस्को उल्टो असर सेयर बजारमा पर्ने गरेको छ । व्याजदर बढ्दा सेयर मूल्य घट्नु सेयर बजारको सामान्य सिद्धान्त नै हो। समग्रमा सेयरबजारको यो गिरावटको कारण पुँजि बृद्धि र व्याज दर नियन्त्रण गर्न नसक्ने राष्ट्र बैंकको कमजोरि हो । अर्थमन्त्रि त केवल बजार घट्दा गालि गर्ने पात्र मात्र हुन ।

सेयर बजारको उत्तर तर्फको दीर्घकालिन यात्राका लागि अझै पनि हामीले मन्त्रि वा व्यक्ति परिवर्तन भन्दा पनि व्याज दर परिवर्तन लाई नजिक बाट नियाल्न जरुरी छ । व्याज दर परिवर्तन दीर्घकालिन कारक हो भने व्यक्ति परिवर्तन अल्पकालिन कारक हो ।

 
रविन्द्र भट्टराई शेयर बजार बिश्लेषक हुन्, यो लेख उनको फेसबुकबाट साभार गरिएको हो ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया