सामसुङको ग्यालेक्सी एस–११ फेब्रुअरी १८ मा, फोल्डेबल स्मार्टफोन पनि सार्वजनिक  हुने

४ बर्ष अगाडि

सामसुङले निकट भविष्यमै बजारमा ल्याउने तयारी गरिरहेको ग्यालेक्सी एस ११ सिरिजका स्मार्टफोनसँग सम्बन्धित केही जानकारीहरु सार्वजनिक भैरहेका छन् पछिल्ला दिनमा । यही बीचमा सामसुङले आफ्नो दोस्रो फोल्डेबल स्मार्टफोनसमेत ल्याउन थालेको खबर आएको छ ।

समाचारअनुसार सामसुङले आगामी फेब्रुअरी १८ मा आफ्नो दोस्रो फोल्डेबल स्मार्टफोन लञ्च गर्ने तयारी गरेको छ । सोही दिनमा सामसुङले आफ्नो फ्लागसीप डिभाइस ग्यालेक्सी एस(११ पनि लञ्च गर्ने विश्वास गरिएको छ ।

दक्षिण कोरियाली कम्पनी सामसुङले बर्सेनि आफ्नो फ्लागसीप एस सिरिजका नयाँ संस्करण मोबाइल वर्ल्ड कंग्रेस ट्रेड शोका क्रममा सार्वजनिक गर्ने गरेको छ । सन् २०२० को मोबाइल वर्ल्ड कंग्रेस २०२० आगामी फेब्रुअरी २४ देखि २७ सम्म हुनेछ । त्यस अगावै सामसुङले फोल्डेबल स्मार्टफोन घोषणा गर्ने र मोबाइल वर्ल्ड कंग्रेसमा सार्वजनिक गर्ने बताइएको छ ।

स्मरण रहोस् गत फेब्रुअरी २० मा सामसुङले आफ्नो ग्यालेक्सी एस १० स्मार्टफोन लञ्च गरेको थियो भने त्यसलाई मोबाइल वर्ल्ड कंग्रेसमा प्रस्तुत गरेको थियो । ग्यालेक्सी एस १० सिरिजसँगै कम्पनीले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन ग्यालेक्सी फोल्ड पनि घोषणा गरेको थियो ।

सोही परम्परा पछ्याउँदै आगामी एस ११ सिरिजसँगै सामसुङले आफ्नो दोस्रो फोल्डेबल स्मार्टफोन लञ्च गर्ने अनुमान गरिएको छ । साथै सोही बेला सामसुङले ग्यालेक्सी एयरबडको नयाँ संस्करण पनि ल्याउने अपेक्षा गरिएको छ । उक्त वायरलेस एयरबडको नाम ‘ग्यालेक्सी बड्स प्लस’ हुन सक्नेछ । सामसुङले ग्यालेक्सी एस ११ सिरिजका तीनवटा मोडेल बजारमा ल्याउने बताइएको छ ।

ग्यालेक्सी ११ मा सामसुङको सबैभन्दा पछिल्लो संस्करणको एक्जीनोस ९९० प्रोसेसर हुनेछ । ग्यालेक्सी एस ११ प्लस मोडेलको स्मार्टफोन ६।९ इन्चको डिस्प्लेयुक्त हुनेछ भने त्यसमा केवल फाइभ जी कनेक्टिभिटी रहनेछ ।

हालैको एक समाचार अनुसार ग्यालेक्सी एस ११ सिरिजमा १०८ मेगा पिक्सेलको क्यामरा हुनेछ । उत्कृष्ट फोटोग्राफीका लागि यसमा ब्राइट नाइट सेन्सर हुनेछ जसले कम प्रकाशमा समेत उत्कृष्ट तस्वीर तथा भिडियो खिच्न सहयोग गर्नेछ ।  त्यसका अलावा ५ हजार मिलिएम्पियर आवर क्षमताको ब्याट्रीसमेत हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया