इच्छाराज तामाङ दम्पत्तिको सम्पूर्ण बैंक खाता रोक्काः सिभिल सहकारी डुब्ने संकेत

४ बर्ष अगाडि

काठमाडौं – ‘अब सिभिल सहकारी पनि डुब्ने भयो, इच्छाराजले सिभिलको ऋण तिर्ने सम्भावना छैन, उनले धेरै रकम विदेश पुराइसकेका छ्न्’– अर्थ मन्त्रालयका एक अधिकारीले बताए । उनका अनुसार इच्छाराजले आफ्नै नामको सिभिल होम्समा सहकारीबाट सात अर्ब रुपैयाँभन्दा धेरै लगानी गरेका छन् । त्यसैगरी उनले सिभिल नाममा खोलेका अन्य विभिन्न कम्पनीहरुमा पनि सहकारीबाट ऋण लगानी गरेका थिए ।
सहकारीमा निक्षेप संकलन गर्न उनले अनेक हतकण्डा अपनाउने गरेका थिए । कालो धन थुपारेकाहरुलाई सम्पर्क गरेर उनले कालोलाई सेतो बनाइदिन्छु भन्दै सहकारीमा राख्न लगाउँथे । अनौठो के छ भने, उनले खोलेका २७ भन्दा धेरै कम्पनीमध्ये कतिपयको सेयर धनी सहकारी आफै रहेको छ । सहकारीले अन्य कम्पनीको शेयर किन्न नपाउने कानुनी व्यवस्थाको उनले ठाडो उल्लंघन गरेका थिए । उनले सेवा निवृत्त कर्मचारीहरुलाई जीवनभर बसिबसि खान पुग्ने व्याज दिन्छु भन्दै सहकारीमा रकम राख्न लगाएका थिए । त्यस्ता पूर्व कर्मचारीहरुको जीवनभरको कमाई सिभिल सहकारीमा जोखिममा परेको छ ।
सिभिल सहकारीले ठूलो रकम अपचलन गर्दा पनि आँखा चिम्लेर बसेको थियो सहकारी विभाग र नेपाल राष्ट्र बैंक । ‘हामीले सिभिलमा जम्मा गरेको रकम पाएनौं भने त्यसको जिम्मेवारी सहकारी विभाग र राष्ट्र बैंकले लिनुपर्छ’– सेवा निवृत्त एक कर्मचारीले बताए । उनले भोलि बुधबार नै आफ्नो रकम झिक्न सिभिलको कार्यालय जाने तर पाइने आश भने खासै नगरेको बताए ।
इच्छाराजले सिभिल सहकारी जसरी नै सिभिल बैंक पनि चलाइरहेका छन् । सो बैंकमा उनकी पत्नीको नाममा करिब १०० वटा खाता रहेको बताइएको छ । उनकी पत्नी तीन वर्ष अघि सरकारी सेवाबाट अवकाश भएकी थिइन् । सरकारी सेवामै रहँदा उनी विभिन्न कम्पनीको सञ्चालक थिइन् । सरकारी कर्मचारीले निजी कम्पनीको सञ्चालक बन्न नपाउने कानुनी व्यवस्था छ ।
सिभिल सहकारीको भविष्य के भन्ने प्रश्न उठेको छ । निक्षेपकर्ताहरुको रकम कसरी फिर्ता गर्ने भन्ने सरकारले सोच्नुपर्ने भएको छ । इच्छाराजले आफ्नै नाममा रहेको सिभिल होम्समा अधिकांश रकम लगानी गरेका छन् तर सिभिल होम्स नै उनले घाटामा देखाएका छन् । घाटामा रहेको सिभिल होम्सबाट सहकारीको ऋण उठ्न सक्ने अवस्था छैन । किनभने सिभिल होम्सलाई घाटामा देखाएर त्यहाँबाट भएको अर्बाैं रुपैयाँ आम्दानी इच्छाराजले गायब पारेको अर्थ मन्त्रालयका अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार इच्छाराजले ठूलो रकम विदेश पुराएको आशंका गरिएको छ ।
 

समस्यामा निक्षेपकर्ता
इच्छाराज विगतमा एमालेका सांसद् थिए । कुनै राजनीतिक पृष्ठभूमि नभएका इच्छाराज धनबलमा सांसद् बनेका थिए । खासगरी उनलाई झलनाथ खनाल र माधवकुमार नेपालले सांसद् बनाएका थिए । केपी ओली शक्तिशाली भएपछि उनी ओलीको पक्षमा लाग्दै आएका थिए । ओलीका निकटस्थहरु खासगरी सुवास नेम्वाङ, अग्नि खरेल, विष्णु रिमाल तथा माधव नेपाल पक्षधर गोकर्ण विष्ट लगायतसँग इच्छाराजको उठबस थियो ।
ऋण पनि नतिर्ने र रकम पनि कुम्ल्याएर विदेश पलायन हुने संकेत मिलेपछि उनको सम्पत्ति रोक्का गर्न सरकार बाध्य भएको हो । स्रोत अनुसार इच्छाराजको सम्पत्ति तुरुन्त रोक्का गर्नु र उनलाई विदेश उड्न पनि नदिनु भनी प्रधानमन्त्री ओलीले नै आदेश दिएका हुन् ।
इच्छाराजको नियन्त्रणमा रहेको सिभिल सहकारी नेपाल राष्ट्र बैकले नियन्त्रणमा लिने तयारी गरेको छ । सहकारीको कागजात जफत भएपछि इच्छाराजले गरेका थप घोटाला प्रकाशमा आउने अपेक्षा गरिएको छ ।
इच्छाराज काण्डका कारण सर्वसाधारण निक्षेपकर्ताहरुले सिभिलमा राखेको रकम कसरी फिर्ता गराउने भन्ने सरकारले नै कार्ययोजना बनाउनुपर्ने देखिएको छ । इच्छाराजलाई यसरी लुट्न छुट दिने काम सरकारले नै गरेको थियो ।
ठूलो रकम अपचलन तथा घोटाला गरेको आशंकामा इच्छाराज र सिर्जनाको सम्पूर्ण सम्पत्ति रोक्का भइसकेको छ । बिदेश जानबाट पनि रोक लगाईएको खबर प्राप्त भएको छ । अब उनलाई कस्तो मुद्दा लगाइन्छ र कहिले गिरफ्तार गरिन्छ भन्ने प्रतिक्षाको विषय बनेको पुर्व सकारी अधिकारीहरुले फेसबुकमा लेखेका छन् ।
यद्यपि, राष्ट्र बैंकले यस बिषयमा थाहा नभएको बताएको छ । अन्य कुनै कानुनी निकायहरुले त्यस्तो गरेको हुन सक्ने राष्ट्र बैंकका एक कर्मचारीको भनाइ छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया