नेपालमा ‘आइएसआइ’ गतिविधि बढे्को भारतीय प्रहरीको निष्कर्ष,  नेपालतर्फ निगरानी बढाँउदै

४ बर्ष अगाडि

आतंककारी गतिविधिमा संलग्न भएको आरोपमा भारतको कानपुरमा गिरफ्तार गरिएका डा. जलीस अन्सारीको बयानका आधारमा भारतीय प्रहरीले नेपालतर्फ निगरानी बढाउन थालेको छ ।

गिरफ्तार गरिएका जलीसको सम्बन्ध नेपालमा रहेको र उनी नेपालमा पाकिस्तानी गुप्तचर संगठन ‘आइएसआइ’लाई मजबुत बनाउने भूमिकामा सक्रिय रहेको भारतीय प्रहरीको निष्कर्ष छ ।

शृङ्खलावद्ध विस्फोटमा दोषी ठहर भई अजमेर जेलमा आजीवन कारावासको सजाय भोग्दै आएका उनी जेलबाट दैनिक हाजिरीको शर्तमा केही दिनका लागि रिहा भएका थिए । कैदीले पाउने ‘पेरोल’ सुविधा प्रयोग गर्दै रिहा भएका उनी रिहाइको शर्त उल्लंघन गर्दै फरार भएपछि भारतीय प्रहरीले खोजी सुरु गरेको थियो ।

उत्तर प्रदेश प्रहरीले उनलाई कानपुरबाट नियन्त्रणमा लिएको बताइन्छ । भारतीय संचारमाध्यमअनुसार जलीसले उत्तर प्रदेशमै ठूलो आतंकवादी घटनाको लक्ष्य बनाएको भारतीय प्रहरीको अनुमान छ । उनी नेपाल जाने र नेपालमै स्थायी बसोबास गर्ने योजनामा रहेको तथ्यहरु खुलासा भएको पनि भारतीय संचारमाध्यमले जनाएका छन् ।

यद्यपि जलीस कानपुरसम्म आउँदा क–कसलाई भेटे, उनी कुन उद्देश्यका लागि कानपुर पुगे र उनको सम्पर्कमा को–को थिए भन्नेबारे प्रहरीले पत्ता लगाउन नसकेको जनाइएको छ । हाल उनीसँग सोधपुछ भइरहे पनि महत्वपूर्ण उपलब्धि हासिल हुन नसकेको बताइन्छ ।

जलीसको गिरफ्तारी र नेपालको चर्चा

नेपालका पूर्व सांसद मिर्जा दिलसाद बेगको हत्यापछि भारतले नेपालमा ‘आइएसआइ’को सक्रियताबारे खुलेरै टिप्पणी गर्न थालेको हो । भारतीय अधिकारीहरु मिर्जा दिलसाद बेगलाई ‘आइएसआइ’को एजेन्टका रुपमा व्याख्या गर्दै आएका छन् । उनको हत्यामा ‘अन्डरवल्र्ड’ कै एक समूह सक्रिय रहेको भारतीय अधिकारीहरुको भनाइ छ ।

जलीस भारतबाट भागेर नेपालतर्फ जान लागेको भारतीय अधिकारीहरुको भनाइ छ । उनी जेलमै रहँदा आइएसआइसँग सम्पर्कमा रहेको र भारतमा उनको ठूलो नेटवर्क अझै पनि रहेको भन्दै अधिकारीहरु उनी भाग्न खोज्नुको उद्देश्य र उनले बनाएको योजना खोतल्ने क्रममा नेपालतिर पनि चनाखो हुन थालेका हुन् ।

गिरफ्तार गरिएका जलीस बम बनाउन माहिर छन् । उनले कयौंलाई बम बनाउन तालिम दिएको बताइन्छ । उनी पाकिस्तानमा गएरसमेत आतंकवादी गतिविधिसम्बन्धी तालिम लिएको, विभिन्न मुलुकमा पुगेर आफ्नो नेटवर्क विस्तार गरेको भन्दै भारतीय अधिकारीहरु उनका सम्भावित सम्पर्क स्रोत, उनको सम्पर्कमा रहेका व्यक्तिहरुको बारेमा सुक्ष्म अनुसन्धान गरिरहेका छन् । प्रहरी नियन्त्रणमै रहेका उनले खुलेर बयान नदिएको बताइन्छ ।

खुर्सिद आलम पनि त्यसैगरी मारिए

दुई दशकअघि काठमाडौँमा पूर्व सांसद मिर्जा दिलसाद बेगको गोली हानी हत्या भएको थियो । उनको हत्या कसले र किन ग¥यो भन्नेबारे नेपाली जनता लामो समयसम्म बेखबर रहे पनि उनको हत्याको विषयले भारतमा ठूलो प्राथमिकता पायो । किनकि भारतीय अधिकारीहरु उनलाई ‘आइएसआइ’ को एजेन्टका रुपमा हेर्दै आएका थिए ।

गत वर्ष सुनसरीको हरिनगर क्षेत्रमा खुर्शिद आलमको हत्या भयो । उनको हत्या पनि मिर्जा दिलसाद बेगकै शैलीमा भएको थियो । भारतीय नम्बर प्लेटको मोटरसाइलकमा आएका दुई जनाले गोली हानी उनको हत्या गरे । हत्यामा संलग्न दुवै व्यक्ति को थिए भन्नेबारे अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

भारतीय अधिकारीहरु खुर्शिद आलमलाई पनि ‘आइएसआइ’ को एजेन्टकै रुपमा व्याख्या गर्दैछन् । आलमलाई ‘मुम्बई विस्फोट’ सँगसमेत जोडेर भारतीय अधिकारीहरुले लिने गरेका छन् ।
भारतीय सुरक्षा निकायका अधिकारीलाई उद्धृत गर्दै भारतकै सञ्चारमाध्यमले जनाएअनुसार मिर्जा दिलसाद बेगपछि खुर्शिद आलम नै नेपालमा आइएसआइका ठूला एजेन्टका रुपमा थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया