नक्कली भ्याट बिल बनाउने गिरोह सक्रिय, के गर्दैछ विभाग

४ बर्ष अगाडि

काठमाडौं – मूल्य अभिवृद्धि कर (भ्याट)को नक्कली बिलविजक प्रयोग गरी राजस्व चुहावट गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले तीन जनाविरुद्ध  काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार रेजिङ इन्टरनेशनलका सञ्चालक सञ्जिव मास्केले नक्कली बिलविजक तयार पारी १४ करोड ८७ लाख रुपैयाँ बराबरको राजस्व चुहावट गरेको पाइएको छ।

विभागले मास्केविरुद्ध बिगोको दोब्बर जरिवाना र तीन वर्ष कैदको मागदावी गरेको छ। वस्तु तथा सेवा नै खरिद नगरी नक्कली भ्याट बिल बनाइ भ्याट र आयकरसमेत छली गरेको पाइएको छ। विभागका अनुसार मास्केले चार करोड ३२ लाख ६९ हजार २८३ रुपैयाँ बराबरको भ्याट तथा १० करोड ५४ लाख ३९ हजार ५९५ रुपैयाँ बराबरको राजस्व चुहावट गरेको अनुसन्धानबाट खुलेको छ।

यस्तै विभागले हैटौँडा उपमहानगरपालिका–२ मा रहेको अनुमान कन्स्ट्रक्सनका सञ्चालक शालिकराम न्यौपानेसहित दुई जनाले आठ करोड ६२ लाख रुपैयाँ बराबरको नक्कली भ्याट बिल बनाइ राजस्व चुहावट गरेको अभियोगमा मुद्दा दायर गरेको छ।

विभागका अनुसार उक्त कन्स्ट्रक्सनका सञ्चालक न्यौपाने र कर्मचारी विश्वराज सुवेदीले दुई करोड ५० लाख १४ हजार १९८ रुपैयाँ बराबर भ्याट बिल र छ करोड १२ लाख चार हजार ६०२ रुपैयाँ बराबरको आयकर चहुावट गरेका छन्। उनीहरुले आठ करोड ६२ लाख १८ हजार ८०० रुपैयाँ बराबरको राजस्व चुहावट गरेको अनुसन्धानबाट खुलेको छ। विभागले बिगोको दोब्बर जरिवाना र तीन वर्षसम्म कैदको माग गर्दै आज ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

विभागले पछिल्ला दिनमा नक्कली भ्याट बिल बनाउने र आयकर छली गर्ने्विरुद्ध आक्रामक रुपमा कारबाही शुरु गरेको छ । विभागका महानिर्देशक मैनालीका अनुसार नक्कली भ्याट बिल बनाउने र आयकर छल्नेमाथि विभागले मिहिन रुपमा अध्ययन गर्दै धमाधम मुद्दा दायर गरिरहेको छ ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया