गण्डकी प्रदेशमा ७२ जनाको कोरोना परीक्षण नेगेटिभ

४ बर्ष अगाडि

गण्डकी प्रदेशमा हालसम्म कोराना भाइरसको परीक्षणका लागि १२४ नमूना सङ्कलन भएकामा रिपोर्ट आएका मध्ये ७२ वटा नेगेटिभ देखिएको छ । हाल ५२ को परीक्षण जारी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

उनले सर्वसाधारणलाई कोरोना सङ्क्रमणबारे शङ्का लागेमा घरबाटै चिकित्सकीय पराशर्म लिन सहयोग पु¥याउने लक्ष्यका साथ सञ्चालित हेलो डाक्टर १०९२ कार्यक्रम प्रभावकारी बनिरहेको बताए । हेलो डाक्टर कार्यक्रममा हालसम्म ४८५ जनाले चिकित्सकीय परामर्शसहितको सेवा लिएका छन् ।

आफूखुशी राहत वितरण गरे कारवाही

जिल्ला प्रशासन कार्यालय तनहुँले लकडाउनको बेला आफूखुशी राहत सङ्कलन र वितरण गर्नेलाई कारवाही गर्ने भएको छ । कोभिड–१९ को जोखिम नियन्त्रणका लागि लागू गरिएको लकडाउनको अवधिमा केही व्यक्ति तथा सङ्घसंस्थाले आफूखुशी राहत वितरण गर्न थालेको भन्दै प्रशासनले त्यस्तो नगर्न  अनुरोध गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले आफूखुशी राहत वितरण कार्य सरकारको नीतिविपरीत भएको हुँदा त्यस्तो नगर्न नगराउन र त्यस्ता किसिमका राहत वितरण कार्य सम्बन्धित स्थानीय तहको समन्वयमा मात्र गर्न सचेत गराइएको जानकारी दिए । 

कतिपय उद्योग व्यवसायीबाट अत्यावश्यक वस्तुको मूल्यवृद्धि गरेको, उपभोक्तासँग बढी रकम असुल गरी कालोबजारी गरिएको भन्ने बुझिन आएकाले त्यस्ता कार्य नगर्न नगराउन पनि प्रशासन कार्यालयले सचेत गराएको छ । 

यसैबी, लकडाउन जारी भएपछि तनहुँ जिल्लामा अलपत्र परेका एक हजार २०० भन्दा बढी कामदारलाई उद्धार गरी घर पठाइएको छ । जिल्लाका विभिन्न भागमा सञ्चालित सडक आयोजना, नाला, पुललगायतमा काम गर्ने कामदारलाई जिल्ला प्रशासन कार्यालयले उद्धार गरेर घर पठाएको हो ।

लकडाउन शुरु भएदेखि हालसम्म एक हजार २३० कामदारको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए । 

जिल्लामा सङ्क्रमण हुन नदिन उच्च सतर्कता अपनाइएको र विदेशबाट फर्किएकाको खोजतलास गरी क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले बताए ।

कोषमा सहयोग 
    
कोभिड–१९ को जोखिम कम गर्न, राहत वितरण तथा आवश्यक व्यवस्थापनका लागि जिल्लाका विभिन्न स्थानीय तहमा खडा गरिएको विपद् कोषमा सहयोग उठ्ने क्रम शुरु भएको छ । 

रु ५० लाखको विपद् व्यवस्थापन कोष बनाएको भानु नगरपालिकामा जैविक विविधता केन्द्रले रु १० हजार, ग्रिन हिमालय कृषि तथा पशु फार्मले रु १५ हजार, प्रगतिशील दुग्ध उत्पादक सहकारी संस्थाले रु १० हजार सहयोग गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रदेव पाण्डेले जानकारी दिए । 

यसैगरी देवघाट गाउँपालिकामा खडा गरिएको विपद् व्यवस्थापन कोषमा प्राणनाथ अनाथ सेवा आश्रमले रु २५ हजार, सिद्धार्थ बैंक देवघाट शाखाले रु ३० हजार सहयोग गरेको छ । 

म्याग्दे गाउँपालिकामा म्याग्दे सहकारी सङ्घले रु एक लाख ४१ हजार ९४७ र स्थानीय रामभक्त घिमिरेले रु १० हजार सहयोग गरेका छन् । 

भारतबाट आएका आठको स्वाब सङ्कलन

बाग्लुङको बरेङ गाउँपालिकामा भारतबाट आएका छसहित आठ जनाको कोरोना परीक्षणका लागि थ्रेट स्वाब सङ्कलन गरिएको छ । स्वास्थ्य कार्यालय बागलुङको टोलीले बरेङस्थित जनता प्रावि क्वारेन्टाइन र सर्वोदय माविमा रहेको क्वारेन्टाइनमा पुगेर थ्रेट स्वाब सङ्कलन गरेको हो ।
 
नेपाल–भारत सीमाको गौरीफन्टा नाका हुँदै आएका कैलालीका एक युवामा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि उनीसँगै नेपाल छिरेका चारको परीक्षण थालिएको हो । 

उनीहरु भारतको कर्नाटकबाट धनगढी हुँदै पाल्पामा सात दिन बसेर बागलुङको बरेङ आएका थिए । बरेङ आएको दिनदेखि नै सर्बोदय माविको क्वारेन्टाइनमा बसिरहेका उनीहरुको थ्रेट स्वाब सङ्कलन गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए । 

त्यस्तै भारतकै मुम्बइबाट आएका दुई जनाको पनि स्वाब सङ्कलन भएको छ । गुल्मीको शान्तिपुरसम्म उनीहरुलाई लिन पुगेका थप दुई जनाको पनि स्वाब सङ्कलन गरिएको गुरौले बताए । 

उनीहरु नयाँबजारको जनता प्राविको क्वारेन्टाइनमा बसेका छन् । मङ्गलबार सङ्कलन भएको स्वाब आज बिहान मात्रै पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइने छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया