माथिल्लो तामाकोशीको शेयर बाँडफाँड , लगानीकर्ताले पाए न्यूनतम ३४ देखि  अधिकतम १०२ कित्ता

५ बर्ष अगाडि

काठमाडौं ।  माथिल्लो तामाकोशी जलविद्यत् आयोजनाले स्थानीय प्रभावितलाई वितरण गरेको शेयर बाँडफाँड गरेको छ ।

आयोजनाले क वर्गको क्षेत्रका आवेदनकर्तालाई कम्तिमा १०२ कित्ता, ख वर्गकाले ४८ कित्ता र ग वर्गकाले न्यूनतम ३४ कित्ता पाउने गरी बाँडफाँड गरिएको हो ।

आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले सबैलाई समानुपातिक तवरले शेयर दिने लक्ष्यका साथ उपयुक्त विधि छनोट गरिएको बताए ।

आवेदकको बाँकी रकम अबको ५  दिनभित्र आवेदन भरेको खातामार्फत नै फिर्ता हुने उनले बताए ।

आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि साधारण शेयर (आइपीओ) बिक्री गरेको ३  महीनापछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आज शेयर बाँडफाँड गरिएको हो ।

गत साउन १६ गतेदेखि बिक्री खुला गरेको कम्पनीले चार महीनापछि शेयर बाँडफाँड गर्न लागेको हो ।

आयोजना प्रभावित क्षेत्रका आधारमा क, ख र ग गरी तीन वर्ग छुट्याएर सोही आधारमा शेयर आवेदनका लागि निष्काशन गरिएकामा दुई लाख ७६ हजार आवेदकले आवेदन दिएका थिए ।

आयोजनाले गत साउन १४ गतेदेखि भदौ १६ गतेसम्म दोलखावासीका लागि शेयर निश्काशन गरेको थियो ।

पहिलो चरणको समयावधिमा पनि शेयर आवेदनकर्ताको भीड नघटेपछि थप ५  दिन शेयर आवेदन भर्ने व्यवस्था मिलाइएको थियो ।

शेयर आवेदन दिएकामध्ये १० जनाले दुई स्थानबाट आवेदन दिएको पाइएको र उनीहरूको आवेदन रद्द हुने प्रवक्ता न्यौपानेले बताए ।

कम्पनीले आयोजना प्रभावित दोलखावासीका लागि १ करोड ५  लाख ९० हजार कित्ता शेयर निष्काशन गरेको थियो ।

सर्वसाधारणलाई बिक्री गरिने २  करोड ६४ लाख ७५ हजार कित्तामध्ये १ करोड पाँच लाख ९० हजार कित्ता स्थानीयलाई बिक्री गरिएको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया