अर्थमन्त्रीको राजिनामा माग्दै शेयर लगानीकर्ता अनशनमा

५ बर्ष अगाडि

काठमाडौँ – शेयर बजार सुधारको बाधक भएको भन्दै लगानीकर्ताहरुको एक समूहले अर्थमन्त्री डा. युवराज खतिवडाको राजिनामा माग गर्दै अनसन बसेका छन्।

शेयर लगानीकर्ता दबाब समूहले पूँजी बजार सुधार तथा विस्तारको माग गर्दै भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको कार्यालयअगाडि अनशन शुरु गरेको छ । 

समूहका संयोजक हरि ढकालको नेतृत्वमा १२ जना अनिश्चितकालीन रिले अनशनमा बसेका हुन् । बैंक खाता र डिम्याट खाता इन्टिग्रेट भएको अनलाइन कारोवार प्रणालीको पहुँच तत्काल लगानीकर्तामा पु¥याउन आग्रह गरिएको छ । 

गैरआवासीय नेपाली तथा विदेशमा बस्ने नेपालीलाई पूँजी बजारमा ल्याउनुपर्ने, शेयर दलालमार्फत मार्जिन ट्रेडिङ तत्काल खुला गर्नुपर्ने, शेयर धितो कर्जाको सीमा धितो मूल्याङ्कनको ८० प्रतिशत पु¥याउनुपर्ने, कूल कर्जा लगानीको २५ प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जा प्रवाह गर्नुपर्नेलगायत सो समूहद्वारा माग गरिएका छन् । 

समूहका प्रतिनिधि नयन बाँस्तोलाले पूँजी बजार विस्तारका लागि नियमनकारी निकायले निर्माण गरेको कार्यविधिलाई सशक्त रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । विगतमा नेप्से १८८१ हुँदा रु २१ खर्बको पूँजी सङ्कलन भएको यो बजारमा हाल नेप्से ११२० मा पुग्दा रु १३ खर्ब पूँजी छ । 

अर्थमन्त्री युवराज खतिवडाले बजार सुधारको लागि भन्दै उच्चस्तरिय समिति बनाए पनि त्यसले अहिलेसम्म कुनै पनि काम नगरेको उनले आरोप लगाए। उनले भने 'यदि बजार सुधार गर्न चाहेको हो भने स्वयं धितोपत्र बोर्ड र नेप्सेले बनाएका विगत ३/४ वर्षदेखिका सुधारका कार्य गर्न ठाडो निर्देशन दिनु पर्थियो।'
 

५ बर्ष अगाडि

प्रतिक्रिया