रक्तदानमा युवा जागरुक

५ बर्ष अगाडि

घोराही – घोराही उपमहानगरपालिका–१४ निवासी नरेन्द्र पुनले १८ पटक रक्तदान गरिसक्नुभयो । 

विसं ०५९ तिर साथीको बुबा गम्भीर बिरामी परेपछि उहाँले बाध्यताले रक्तदान गर्नुभएको थियो । त्यस पछि पनि उहाँले आवश्यकताअनुसार फाटफुट रक्तदान गर्नुभयो । तर गतवर्ष ०७४ देखि उहाँले प्रत्येक तीन महीनामा रक्तदान गर्दैआउनुभएको छ । 

‘रक्तदान मानवीय सेवाको लागि गर्छु र त्यसमा मैले आत्मसन्तुष्टि पाउछु ।’ उहाँ भन्नुहुन्छ, “बिरामीका आफन्तले रगत नपाउँदा निन्याउरो अनुहार र पाइसके पछिको खुशीको अनुहार देखेरै गर्व महसुस हुन्छ ।” 

रक्तदान उहाँ आफूले मात्रै गर्नुहुन्न अरुलाई पनि गर्नको लागि प्रेरित गर्ने खालका स्टाटस उहाँको फेसबुक वालमा पटक÷पटक हालिएको देख्न सकिन्छन् । फुटबल महासङ्घ दाङका महासचिवसमेत रहनुभएका पुन सामाजिक काममा सक्रिय व्यक्ति हुनुहुन्छ । 
यस्तै पत्रकार जनक नेपाली पनि १५ पटक भन्दा बढी रक्तदान गरिसकेको बताउनुहुन्छ । कसैलाई समस्या पर्दा होस् वा कुनै सङ्घ संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा उहाँ रगत दिन पुगिसक्नुभएको हुन्छ । रक्तदान मात्रै होइन समस्या परेकालाई रगत खोज्नको लागि उहाँ सधैँ हतारिएको देख्न सकिन्छ । उहाँ भन्नुहुन्छ, “रगतको समस्यामा परेर छटपटाएका धेरैलाई बचाइसके ।” समस्यामा परेकोलाई बचाउँदा आफ्नो मनमा हुने सन्तुष्टि नै मुख्य भएको उहाँको अनुभव छ । उहाँले पनि रगत आवश्यकता प¥यो वा कसैलाई रगत चाहियो भने खबर गर्नुहोला जस्ता स्टाटस आफ्नो सामाजिक सञ्जालमा राख्नुभएको छ । 

यस्तै त्रिभुवन नगर जेसिजका पूर्व अध्यक्ष एवं शिक्षक निःसन्तान आचार्य पनि रक्तदानमा निकै सक्रिय व्यक्ति हुनुहुन्छ उहाँले पनि करीब २५ पटक भन्दा बढी रक्तदान गरिसक्नुभयो । अहिले उहाँले पनि प्रत्येक तीन तीन महीनामा रक्तदान गर्दै आएको बताउनुहुन्छ । 

दाङमा पछिल्लो समय केही सङ्घ संस्था सक्रिय रुपमा रक्तदानमा लागेको पाइन्छ । आफ्नो स्थापना दिवस, वार्षिक उत्सव, अधिवेशन लगायतको नाममा सङ्घ संस्थाले रक्तदानलाई प्राथमिकता दिएको पाइन्छ । जसको कारण जिल्लामा रगतको आपूर्ति केही सहज हुनपुगेको छ । 

दाङमा विशेषगरी त्रिभुवन नगर जेसिज, पत्रकार महासङ्घ, उद्योग वाणिज्य सङ्घ, होटल व्यवसायी, विभिन्न स्कुल, कलेज, विभिन्न समूह, क्लबले पनि रक्तदान गरिरहेका छन् । नियमित रक्तदान गरिहनुभएका फोटो पत्रकार कुलदीप न्यौपाने कोही बिरामीलाई रगतको अभाव भइरहेको समयमा पनि रक्तदान गर्नुपर्छ, भन्ने भावना स्वयम बिरामीको आफन्तमा नदेखिएको बताउनुहुन्छ । यस्तो अवस्थामा नियमित रक्तदानलाई बोलाएर भए पनि रगत दिन लगाउनुपरेको उहाँ सुनाउनुहुन्छ । 

रक्तदान गर्नका लागि जसलाई पनि साहै्र मेहनत गरेर मनाउनु परिरहेको उहाँको अनुभव छ । उहाँका अनुसार क्याम्पस, विद्यालय र युवा पुस्तामा रक्तदानको चेतना विस्तार गर्न जरुरी रहेको छ । 

ब्लड बैंँक दाङका सुपरभाइजर ठाकुर खनालका अनुसार दाङमा सबै भन्दा बढी रक्तदान गर्ने व्यक्तिमा होटल व्यवसायी समितिका पूर्व अध्यक्ष जीतबहादुर केसी हुनुहुन्छ, भने महिलामा मनकामना होटलकी कालिका खरेल । ब्लडबैंक घोराहीका अनुसार केसीले ५० पटक र खरेलले २४ पटक रक्तदान गरिसक्नुभएको छ । 

सत्यसाई केन्द्र लमहीकी चहाना श्रेष्ठ जसले १४ पटक रक्तदान गरिसक्नुभएको छ । यस्तै पत्रकार लोकराज पराजुलीले १५ पटक, कुलदीप न्यौपानेले १८ पटक, राजेश सिल्पाकार, सुमन पौडेल, प्रमोद श्रेष्ठ, बद्री खड्का, धनबहादुर केसी, प्रकाश श्रीवन्द, गुरुप्रसाद चौधरी, गङ्गाराम भट्ठराई, टीका बस्नेत, जनक नेपाली वसन्त प्रकाश चौधरी, दिलीप सापकोटा, दुर्गाप्रसाद चौधरी, सुदिप गौतम, प्रदीप श्रेष्ठ, गणेश श्रेष्ठ लगायतले १५ पटक भन्दा बढी रक्तदान गरिसक्नुभएको छ । 

ब्लड बैंक घोराहीका अनुसारमाथि उल्लेखित नाम ब्लड बैंकमा आफै आएर प्रत्येक तीन महीनामा रक्तदान गर्नेहरुको हो । त्यसैगरी अन्य केही व्यक्ति पनि निरन्तर सम्पर्कमा रहने र रक्तदान गर्ने गरेको बैँकका ठाकुर खनालले जानकारी दिनुभयो । स्वास्थ्यका हिसाबले १८ वर्ष माथिका र ६० वर्ष नपुगेका ४५ किलोतौल भएका जुनसुकै व्यक्तिले रक्तदान गर्नसक्ने बताइन्छ । 

विसं २०५९ मा दाङमा स्थापना भएको रक्तसञ्चारको सेवामा काम गरिरहेको संस्था नेपाल रेडक्रस सोसाइटी दाङले विभिन्न सङ्घ सस्थाको सहयोग तथा समाजसेवी रक्तदाताबाट उक्त रगतजम्मा गरी रगत वितरण गर्ने काम गर्दै आएको छ । 

घोराहीमा गत आर्थिक वर्ष २०७४÷७५मा दुई हजार १०० प्वाइन्ट रगत अर्थात सात लाख ३५ हजार मिलिलिटर रगत खपत भयो । गत भदौ महीनामा तुलसीपुरमा स्थापना भएको ब्लड बैंकबाट पनि साढे दुई सय प्वाइन्ट रगत बिरामीसम्म पुगेको छ । यो माथिको तथ्याङ्क हेर्दा जिल्लामा सरदर मासिक दुई सयदेखि २५० प्वाइन्टसम्म रगतको आवश्यकता पर्ने गरेको छ । 
रेडक्रस सोसाइटी दाङले घोराहीमा स्थापना गरेको ब्लड बैंकमा मुस्किलले मासिक रुपमा ३० देखि ३५ जनासम्म नियमित रक्तदाता छन् । ब्लड बैँकका प्रमुख दिलीप न्यौपानेले दिएको जानकारी अनुसार नियमित रक्तदान गर्न आउनेबाट मासिक रुपमा ३० देखि ३५ प्वाइन्ट रगत मात्रै जम्मा हुन्छ । त्यस बाहेकको रगत जम्मा गर्न ब्लड बैकलाई सधैँ हम्मेहम्मे पर्ने गर्दछ । तर पनि नियमित रक्तदान गर्ने युवाको जमात बढ्दै जाँदा भने कही सहज भएको स्वयं ब्लड बैंक कर्मचारी बताउँछन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया