सकियो राष्ट्रिय स्तरको अबाकस प्रतियोगिता, कुन- कुन स्कुल भए च्याम्पियन ?

२ महिना अगाडि

काठमाडौँ : राष्ट्रिय स्तरको अबाकस प्रतियोगिता सम्पन्न भएको छ । बाल विकास एनसीमास संस्थाको आयोजनामा सम्पन्न प्रतियोगितामा जुनियर, मिडिल र सिनियर लेबलको छुट्टाछुट्टै प्रतिस्पर्धा गराइएको थियो ।

पूर्व शिक्षामन्त्री, सांसद एवं नेपाली काँग्रेसका नेता दिलेन्द्र प्रसाद बडु प्रमुख अतिथि र गण्डकी प्रदेशसभा सदस्य टिकाकुमारी बस्याल विशेष अतिथि रहेको कार्यक्रममा १ सयभन्दा बढी विद्यालयका प्रतियोगी विद्यार्थी, शिक्षक र अभिभावकहरू सहभागी थिए।

कार्यक्रममा मन्तव्य राख्दै पूर्व मन्त्री बडूले अबाकसलाई अनिवार्य विषयको रूपमा नै समावेश गराउनुपर्ने आवश्यकता औँल्याए । यसअघि आफूले अबाकसबारे केही बुझ्ने मौका पाएको स्मरण गर्दै उनले अबाकसलाई सरकारले नै पाठ्यपुस्तकमा अनिवार्य विषय बनाउनुपर्ने बताए । यसले बालबालिकाहरूको मस्तिष्कमा सुधार गर्न निक्कै सहयोग गर्ने भन्दै उनले आफ्नो तर्फबाट के–के सहयोग गर्नुपर्ने हो त्यो गर्ने आश्वासन दिए ।

कार्यक्रममा विशेष अतिथि गण्डकी प्रदेशसभा सदस्य टिकाकुमारी बस्यालले अबाकसको औचित्य झनै बढेर गइरहेको बताइन् भने विभिन्न व्यक्तिहरूलाई मायाको चिनोसहित सम्मान गरेकी थिइन् । प्रतियोगिता अन्तर्गत जुनियर लेबल ( कक्षा १, २) तर्फ एन्जल्स प्याराडाईजका रोसिका नेपाल च्याम्पियन, नवनित टोडलर्स जोनका अबिका जोशी फष्ट रनरअप, काठमाडौँ प्रज्ञा कुञ्जका रियान्स आचार्य सेकेन्ट रनरअप र ब्राईट फ्युचरका दिव्यान्त गिरि थर्ड रनरअप भए ।

त्यस्तै मिडिल लेबल (कक्षा ३,४) तर्फ पाथीभरा एकेडेमीका सुदिनमणि पौडेल च्याम्पियन, विभूति विद्या मन्दिरका संकल्प अमगाई फष्ट रनरअप, एम्स एकेडेमीका सिद्धार्थ दाश सेकेन्ड रनरअप र कान्जिरोवा स्कुलका सार्थकनाथ गोपाली थर्ड रनरअप भए ।

त्यस्तै सिनियर लेबल (कक्षा ५ भन्दामाथि) ब्राईट फ्युचरका निकिता झा च्याम्पियन, मेघा पब्लिक स्कुलका कृषला प्याकुरेल फष्ट रनरअप, कान्जिरोवा स्कुलका अबि भुजु सेकेन्ड रनरअप र ओडिसी इन्टरनेशनल एकेडेमीका प्रज्वल कट्टेल थर्ड रनरअप भए ।

यसअघि हरेक विद्यालयमा विद्यालय स्तरीय अबाकस प्रतियोगिता गरेर राष्ट्रिय स्तरको प्रतियोगीताका लागि प्रतियोगी छानिएका थिए । राष्ट्रिय स्तरको प्रतियोगितामा च्याम्पियन बनेकाहरूले अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धामा सहभागी बन्न पाउने अवसर पाउने बाल विकास एनसीमास संस्थाका तेजु नेपालले बताए । कार्यक्रममा उनले अबाकसको आवश्यकताबारे प्रस्ट पार्दै अझै यसलाई देशव्यापी बनाउने अभियानमा आफूहरू लागिपरेको बताए ।

कार्यक्रम लगत्तै च्याम्पियन बनेकाहरूले अबाकस आफ्नो विद्यालयमा लागु गराएकोमा विद्यालयसहित बाल विकास एनसीमासलाई धन्यवाद दिएका थिए भने शिक्षकहरूले पनि आफ्नो बालबालिकामा अबाकसले ल्याएको परिवर्तन देखेर निक्कै खुसी व्यक्त गरेका थिए।

शैक्षिक क्षेत्रमा नयाँ प्रयोग गरिएको अवाकसले बालबालिकाको मस्तिष्क विकास, गणितीय समस्या समाधान गर्न सहज, ध्यानलाई केन्द्रीकृत गराउने गर्दछ । विश्वका १ सय ५० भन्दा बढी देशमा यसको प्रयोग भइरहेको छ । 

बालबालिकाको शैक्षिक प्रणालीमा सुधार ल्याउन २ हजार वर्ष पुरानो फादर अफ कम्प्युटर अवाकसलाई विद्यालयले वैकल्पिक विषयका रूपमा पठनपाठन गराउँदै आएको छ । बाल विकास एनसीमास संस्थामार्फत ३५० वटा भन्दा धेरै विद्यालयले अबाकस लागु गराएका छन् ।

२ महिना अगाडि

प्रतिक्रिया