काठमाडौं - उद्योग व्यवसाय व्यवसायमा आवश्यक दक्ष जनशक्ति देशभित्रै नपाउँदा विदेशबाट ल्याउनुपर्ने बाध्यात्मक अवस्था छ ।
खासगरी इन्जिनियर, पाइलट, चिकित्सक, प्राविधिकलगायतका दक्ष जनशक्तिहरू स्वदेशमा अभाव भएपछि विदेशबाट ल्याउने गरिएको छ । एकातर्फ सीप नहुँदा देशभित्रको युवा जनशक्ति विदेशमा काम गर्न जान बाध्य छ भने अर्कोतिर विभिन्न आयोजनामा काम गर्ने दक्ष जनशक्ति स्वदेशमा नपाएर विदेशबाट ल्याउनुपर्ने बाध्यात्मक अवस्था छ । श्रम तथा सुरक्षाजन्य विभागले उपलब्ध गराएको तथ्यांकअनुसार विगत सात वर्षको अवधिमा २० हजार चार सय ८७ जना विदेशी दक्ष श्रमिकले नेपालमा काम गर्नका लागि श्रम स्वीकृति लिएका छन् । जसमा १८ हजार १३ जना पुरुष र दुई हजार चार सय ७४ जना महिला छन् । विभागका अनुसार सन् २०१७ देखि २०२४ सम्म सो संख्यामा विदेशी दक्ष श्रमिकलाई श्रम स्वीकृति दिइएको हो ।
बाध्यकारी व्यवस्थाका कारण दक्ष विदेशी श्रमिक अनिवार्यरूपमा श्रम स्वीकृति लिई नेपालमा काम गर्दै आएका छन् । नेपाल आउने विदेशी श्रमिकहरूमध्ये महिलाको तुलनामा पुरुषको संख्या बढी रहेको विभागमा प्रवक्ता मणिनाथ गोपले जानकारी दिए । उनले नयाँ श्रम स्वीकृति र श्रम स्वीकृति नवीकरण गर्नेहरूमा पुरुषको संख्या ज्यादै ठूलो रहेको बताए । समीक्षा अवधिमा नयाँ श्रम स्वीकृति लिने आठ हजार ४४ जना विदेशी दक्ष श्रमिकमध्ये सात हजार दुई सय ३१ जना पुरुष र आठ सय १३ जना महिला रहेका छन् । साथै श्रम स्वीकृति नवीकरण गर्ने चार हजार छ सय ७७ जना विदेशी दक्ष श्रमिकमध्ये चार हजार २४ जना पुरुष र छ सय ५३ जना महिला छन् ।
विदेशी श्रमिकहरू अनिवार्य श्रम स्वीकृति तथा श्रम स्वीकृति नवीकरण गरी नेपालमा काम गरेर बस्न पाउने कानुनी व्यवस्था गरिएको छ । अर्कोतर्फ बाध्यकारी व्यवस्थाका कारण दक्ष विदेशी कामदार मात्र नेपाल आएको विभागले जनाएको छ । श्रम ऐन २०४८ (संशोधन २०५४)ले दक्ष गैरनेपाली नागरिकलाई श्रम इजाजत दिने व्यवस्था गरेको छ । श्रम ऐन, २०४८ को दफा ४ (क) मा कुनै दक्ष प्राविधिक पदका लागि नेपाली नागरिक उपलब्ध नभएमा व्यवस्थापकले सो कुराको प्रमाणसहित गैरनेपाली नागरिक नियुक्ति गर्ने स्वीकृतिको लागि श्रम विभागमा निवदेन दिनसक्ने व्यवस्था गरिएको छ । दक्ष प्राविधिक पदको लागि नेपाली नागरिक उपलब्ध नहुने देखिएमा श्रम विभागले श्रम कार्यालयको सिफारिसमा एक पटकमा दुई वर्षमा नबढाई बढीमा पाँच वर्षसम्म र विशिष्ट प्रकारका दक्ष प्राविधिक पदमा बढीमा सात वर्षसम्म गैरनेपाली नागरिकलाई काममा लगाउन स्वीकृति दिन सक्नेछ । गैरनेपाली नागरिकलाई काममा लगाउने व्यस्थापकले नेपाली नागरिकलाई नै दक्ष बनाई क्रमशः प्रतिस्थापन गर्ने व्यवस्था गर्नुपर्दछ । जसले गर्दा उनीहरू दक्ष हुनुको साथै नेपाली नागरिकलाई आफ्नो दक्षता समेत प्रदान गर्नुपर्नेछ ।
यस्तै पाँच दर्जनभन्दा बढी मुलुकबाट गैरनेपाली नागरिक नेपाल आउनेगरेका छन् । विशेष गरी सीमा जोडिएका चीन र भारतपछि विकिसित मुलुकका दक्ष श्रमिकहरू समेत नेपाल आउन रुचि देखाउँछन् । विभागले उपलब्ध गराएको तथ्यांकअनुरूप नेपालमा चीन–भारत, जापानदेखि जर्मनी, अमेरिका, केनियालगायत करिब अधिकांश महादेशबाट काम गर्नका लागि विदेशी श्रमिक आउने गरेको छन् । सात वर्षको अवधिमा सबैभन्दा धेरै संख्यामा चिनियाँ र बेलायती श्रमिक रहेको देखिन्छ । सो अवधिमा नौ हजार १५ जना चिनियाँ र पाँच सय ५८ जना बेलायती, चार सय १० जना अमेरिकी, दुई सय ५४ जना भारतीय, तीन सय एक जना दक्षिण कोरियाली, दुई सय ६२ जना जापानिज, एक सय ४१ जना अष्ट्रेलियन, एक सय ३२ जना श्रीलंकन, एक सय १७ जना जर्मनी, ८७ जना इटलियन, ९६ जना फ्रान्सेली, ९९ जना फिलिपिनी र ५० जना स्पेनी दक्ष कामदार यहाँ कार्यरत छन् । नाइजेरिएन ५० जना, भनेजुयला सात जना, युगान्डा २० जना, सर्बिया पाँच जना दक्ष कामदार यहाँ कार्यरत छन् । चिनियाँ सहयोगको परियोजना सञ्चालन भएको हुँदा चिनियाँ नागरिकको संख्या बढी भएको बताइएको छ । बेलायती, अमेरिका, भारतीय नागरिक भने लामो समयदेखि यहाँ कार्यरत हुँदा श्रम स्वीकृति नवीकरण गरी कार्यरत भई बसेको पाइन्छ । विदेशी श्रमिकको संख्या बढ्दा यसको आपूर्तिकर्ता समेत बढ्दै गएको विभागले जनाएको छ । विभागका अनुसार हालसम्म चार सय ३१ वटा आपूर्तिकर्ता संस्था र हेको छ । जसमा नवीकरण र क्रियाशील रहेको श्रमिकको अपूर्तिकर्ता संस्थाको संख्या दुई सय ७६ वटा रहेका छन् ।
प्रतिक्रिया