साताको समीक्षा: साढे १ प्रतिशत घट्यो नेप्से, २ अर्ब ७९ करोडको शेयर किनबेच

१ महिना अगाडि

काठमाडौँ । साताभरका कारोबार अनुसार यस साता नेप्से परिसूचक साढे १ प्रतिशत घटेर बन्द भएको छ। गत साता २०३५.६४ विन्दुमा बन्द भएको नेप्से, ३१.५९ अंक घटेर २००४.०५ विन्दुमा झरेको छ। यस साता सेन्सेटिभ इन्डेक्स ३.६७ अंक घटेको छ भने फ्लोट इन्डेक्स १.५६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.३८ अंक घटेको छ।

यस साता नेप्सेमा त्रैमास अन्त्यको प्रभाव देखिएको हो मान्न सकिन्छ। गत साता दैनिक औषतमा २ अर्ब ४३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता भने २ अर्ब ७९ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १४.६३ प्रतिशत बढी हो। नेप्से घटे पनि यस साता दैनिक औषत कारोबार रकम भने बढेको देखिन्छ। 

त्यस्तै, गत साताको तुलनामा यस साताको दैनिक औषत शेयर सङ्ख्या ४.८७ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार सङ्ख्या १८.८५ प्रतिशत बढी हो। यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि साढे १ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब २७ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता ५० अर्ब रुपैयाँ घटेर ३१ खर्ब ७७ अर्बमा झरेको छ।

त्यसै गरी १३ उपसमूहमध्ये यस साता दुई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस साता लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ४.६२ प्रतिशत बढेको छ। यस साता तीन कम्पनीको कुल २ करोड ६३ लाख १६ हजार ७२२.४४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता लक्ष्मी सनराइज बैंक, साना किसान विकास लघुवित्त वित्तीय संस्था र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सर्वाधिक ५०.०४ प्रतिशत बढेको छ। त्यस्तै, यस साता विन नेपाल लघुवित्तको शेयर मूल्य ३५.०४ प्रतिशत बढेको छ भने मानुषी लघुवित्तको शेयर मूल्य करिब २३ प्रतिशत बढेको छ। 
 

१ महिना अगाडि

प्रतिक्रिया