काठमाडौं – उद्योग मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्तिको प्रकृया अघि बढाएको छ । मन्त्रालयले सिइओको लागि सर्ट लिष्ट गरेका एक जना उम्मेदवार अख्तियार र सतर्कता केन्द्रले कारबाहीका लागि अनुसन्धान गरिरहेका व्यक्ति परेका छन् । ती व्यक्ति खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडकै कर्मचारी प्रशासनको विभागीय प्रबन्धक डिल्लीराम लम्साल हुन ।
लम्सालको पुख्र्यौली घर तनहुँ हो । उनी २०४५ सालमा खरिदारबाट निजामति सेवामा प्रवेश गरेका हुन । जागिरमा प्रवेश गर्दा अति सामान्य आर्थिक पृष्ठभूमिका लम्सालको अहिलेको अवस्था थाहा पाउनेहरुले जिब्रो टोक्छन् । जागिरका क्रममा साविकको कर्णाली प्रदेश र सुदूरपश्चिमका विभिन्न जिल्लामा उनी बसेका छन् । जहाँ बसे पनि उनले आर्थिक चलखेल र घोटाला नगरेको कुनै ठाउँ नै छैन ।
लम्सालसित अहिले नवलपरासीको कवासोतीमा खेती गर्ने बिघौं बिघा जग्गा र घर घडेरी रहेको छ । त्यसैगरी नारायणघाटको हाकिम चौकमा बंगला सहितको घर र घडेरी रहेको थाहा हुन आएको छ । त्यस्तै काठमाडौंको ग्राण्डी आसपासमा पनि एउटा घर रहेको उनी विरुद्ध अख्तियारमा परेको उजुरीमा उल्लेख छ । श्रीमतीलाई महंगो खालको स्विफ्ट डिजाएर मोडेलको कार पनि किनिदिएका छन् । यति मात्र होइन आफ्ना मामा मार्फत लम्सालले डोजर तथा टिप्पर सहित क्रसर उद्योगमा समेत लगानी गरेका छन् ।
खरिदार तहबाट निजामति सेवामा प्रवेश गरेको एउटा कर्मचारीले अकूत सम्पत्ति कसरी कमाउन सफल भए ? उनको अस्वभाविक आर्थिक तरक्कीप्रति प्रश्न उठाउँदै अख्तियार अनुसन्धान आयोग टंगालमा उजुरी परेको छ । सतर्कता केन्द्रले पनि २०८१र१र२१ मा उनीमाथि लागेका आरोपहरुसँग सम्बन्धित कागजात मगाउन खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड भद्रकाली प्लाजालाई पत्राचार गरेको पाइएको छ ।
सुशासनको गफ हाँक्ने ओली सरकारले पदीय मर्यादा अनुकूल कार्य नगरेको र भ्रष्टाचाजन्य कसुर गरेको आरोपमा छानबिन गरिरहेको व्यक्तिलाई प्रमुख कार्यकारी अधिकृत जस्तो जिम्मेवारी दिने अन्तिम तयारी गरेर आफ्नै खिल्ली उडाइरहेको सोही कार्यालयका कर्मचारीहरुबीच नै गाईगुई चल्न थालेको छ । यस सम्बन्धमा निज लम्सालसित बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया