काठमाडौँ – शुक्रबार आफ्नो दोस्रो कार्यकालको तीन वर्ष पुरा गरेको अवसरमा पत्रकार सम्मेलन गरेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् उत्पादनसँगै अन्तरदेशीय विद्युत् प्रशारण लाइनको विस्तार तथा स्तरोउन्नतीमा व्यापक सुधार भएको बताएका छन् । नेपाल विद्युत् प्राधिकरणले सन् २०३५ सम्ममा २० हजार मेगावाट विद्युत् निर्यात गर्न सक्नेगरी प्रसारण लाइन सञ्जालको विस्तार गरिने सुनिश्चितता गरिएको पत्रकार सम्मेलनमा घिसिङले बताए ।
उक्त पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले भारतसँगको विद्युत् व्यापारका लागि करिब २ हजार ५ सय मेगावाट विद्युत् प्रवाह गर्न सक्ने नयाँ बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तर्देशीय प्रसारण लाइन निर्माणाधीन अवस्थामा रहेको बताए ।
एक प्रश्नको जवाफमा नेपाल–भारतबिचको विद्युत् आयात निर्यातका लागि ८ वर्षअघि करिब ३५० मेगावाट विद्युत् प्रवाह गर्न सक्ने प्रसारण लाइन क्षमता रहेकोमा हाल करिब २ हजार मेगावाट पुगेको उनले बताए ।
यसैगरी इनरुवा–पूर्णिया र लम्की–बरेली ४०० केभी प्रसारण लाइन कार्यान्वयनका चरणमा रहेको नेपाल र भारतबीच थप प्रसारण लाइन निर्माणको सम्भाव्यता अध्ययन भइरहेको छ । नेपाल, भारत र बङ्गलादेशबिचको विद्युत् व्यापारलाई थप सहज बनाउन इनरुवाबाट अनारमणिसम्म ४०० केभी प्रसारण लाइन निर्माण प्रक्रिया अगाडि बढाइएको उनले बताए ।
‘ आफ्नो तीन वर्षे कार्यकालको उपलब्धीको चर्चा गर्दै उनले छिमेकी देश चीनसँगको विद्युत् व्यापारका लागि पनि चिलिमे–केरुङ प्रसारण लाइन अगाडि बढाइएको बताए । उनले थप उपलब्धीको बारेमा भने ,‘८ वर्ष अघिसम्म विद्युत् वितरणतर्फका वितरण सबस्टेसनहरु ८० वटा रहेकामा अहिले बढेर १ सय ९७ वटा पुगेको छ । सब स्टेसन क्षमता ६४० एमभिए मात्र रहेकोमा अहिले २ हजार ५ सय एमभिए पुगेको छ । यसैगरी वितरण लाइनतर्फ आठ वर्षअघि १ लाख २१ हजार सर्किट किलोमिटर रहेकामा अहिले बढेर २ लाख ८ हजार सर्किट किलोमिटर पुगेको छ’ ।
प्रतिक्रिया