माैसम पूर्वानुमान

यस वर्षको दोस्रो हिउँदे वर्षा पश्चिम नेपालमा हुने सम्भावना

आइतबार, ०७ पुस २०८१, ०६ : ४८

काठमाडाैं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको दोस्रो हिउँदे वर्षा सोमबार रातिदेखि पश्चिम नेपालमा हुने सम्भावना छ। मौसमविद् विनोद पोखरेलले पनि यो वर्षा हल्का मात्र हुने र मुख्यतया पहाडी तथा हिमाली भेगमा केन्द्रित रहने औंल्याएका छन्।

उनका अनुसार कर्णालीमा राम्रो वर्षा र सुदूरपश्चिममा हल्का वर्षा हुने देखिएको छ। अन्य प्रदेशमा भने छिटफुट वर्षा र सामान्य बदली मात्र हुने अनुमान गरिएको छ। महाशाखाको अनुसार सोमबार हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा पनि आंशिक बदली रही थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

मंसिर २६ यता देशका कुनै पनि क्षेत्रमा पानी परेको छैन। तर, सोमबार राति हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। पहाडी क्षेत्रमा पनि आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

महाशाखाका अनुसार सुदूरपश्चिमकै तराई क्षेत्रमा भने मुख्यतया मौसम सफा रहनेछ। आइतबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा बदली हुने र राति कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ। बाँकी भूभागमा भने मौसम सफा रहने अनुमान गरिएको छ।

महाशाखाले हिउँदे वर्षा मुख्यतः पश्चिमी वायुको प्रभावले हुने बताएको छ। यसपटक पनि यो प्रभावका कारण पश्चिम नेपालका पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना बढेको हो। तराई क्षेत्रमा भने सामान्य बदली रहने अनुमान गरिएको छ।

आइतबार, ०७ पुस २०८१, ०६ : ४८

प्रतिक्रिया