काठमाडौं - त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले एक लाख रुपैयाँसम्मको स्वास्थ उपचार खर्च पाउने व्यवस्था रहेको छ । यस्तो व्यवस्था रहेको सुन्दा सबैलाई अचम्म लाग्न सक्छ, तर त्रिविले ल्याएको यो सुविधा धेरै वर्ष बितिसक्दा पनि अधिकांश विद्यार्थी भने यसमा अनभिज्ञ छन् ।
यो व्यवस्था लागू भएको ८ वर्ष वितिसक्दा पनि प्रायजसो विद्यार्थीहरुलाई उक्त व्यवस्थाबारे जानकारी समेत छैन भने कतिपय विद्यार्थीहरुले प्रक्रिया झन्झटिलो भएको भन्दै सुविधा नै लिँदैनन् । त्रिविले आव २०७३–७४ देखि विद्यार्थीका स्वास्थ्य उपचार कोष खडा गरेर विद्यार्थीलाई उपचारमा सहयोग गर्दै आइरहेको छ ।
२०७६ मंसिरमा त्रिविका विद्यार्थीले एक लाखसम्म उपचार खर्च पाउने व्यवस्था गरिएको थियो । त्यसअघि त्रिविले प्रतिविद्यार्थी रु ५० हजारसम्मको खर्च गर्ने गरेको थियो । त्रिविका देशभरि रहेका आंगिक क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थीहरुले उक्त सुविधा पाउने व्यवस्था छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल पोखरा, धवलागिरी अञ्चल अस्पताल बागलुङ, प्रदेश अस्पताल सुर्खेत र भेरी अञ्चल अस्पताल नेपालगञ्जबाट त्रिविका विद्यार्थीहरुले स्वास्थ्य उपचारमा छुट पाउन सक्ने व्यबस्था रहेको छ । ती अस्पतालसँग उपचार खर्चका लागि एक लाख रुपैयाँसम्म खर्च गर्ने गरी सम्झौता गरेको त्रिविले जनाएको छ ।
स्वास्थ्योपचार कोषसम्बन्धी कार्य व्यवस्थापन प्रणाली–२०७१ ले सबै खाले रोगको उपचारका लागि कोषबाट प्रत्येक शैक्षिक वर्षमा अधिकतम १ लाख ब्यहोर्ने व्यवस्था गरेको छ । अस्पतालमा भर्ना भएका बिरामीको लागि जनरल वार्डको बेड चार्ज मात्रै कोषले ब्यहोर्नेछ । तर उपचारका लागि आईसीयूमा राख्न आवश्यक भए अधिकतम एक लाख रकम आईसीयूको खर्च कोषले बेहोर्नेछ ।
त्रिविको यस्तो व्यवस्था सुनेर पाटन क्याम्पसका एक विद्यार्थीले आश्चर्य प्रकट गरे । मजाक किन गर्या भन्दै उनले आश्चर्य प्रकट गर्दै भने, ‘म यो क्याम्पसमा पढ्न थाल्या तीन वर्ष भयो आज सम्म केहि पत्तै छैन् । आज सम्ममा एक दिन पनि यो कुरा कसैबाट सुनेकै छैन् । ’
विभिन्न सम्झौता गरिएका अस्पतालहरुले प्रयोगशाला परीक्षण, शैया शुल्क आदिमा प्रति विद्यार्थीलाई एक लाखसम्म उपचार खर्च व्यहोर्ने गरेका छन्।
पर्याप्त सूचनाको अभावमा यो व्यवस्थाबाट अधिकांश विद्यार्थी वञ्चित भएका छन् । उपचार गर्ने नसक्ने विद्यार्थीहरुका लागी यो व्यवस्था धेरे नै महत्वपूर्ण रहेको छ ।
प्रतिक्रिया