काठमाडौं - चाहे जुनसुकै पेसा व्यवसाय गर्ने व्यक्ति हुन्, अधिकांश आफ्नो रिटायर लाइफ रमाइलो गरेरै बिताउने सपना देख्ने गर्छन् ।
आफूले गरिरहेको पेसाबाट अवकाश पाएपछि निजी जीवन बाचे कसको चाहाना नहोला र ? तर, केही महिना अघि मात्रै नेपाल प्रहरीको डिएसपीबाट रिटायर भएका गोविन्द पन्थी भने थप जिम्मेवारीको भारी काँधमा बोकेर रमाउने सुरुमा छन् ।
‘साँच्चै जिन्दगीमा ड्युटी गर्दा गर्दै आफूले चाहेको जस्तो, सोचेको जस्तो र आफूले गर्न सक्ने अनि काम गरिसकेपछि आफूले ड्युटी सकेँ भनेर खुसी हुनुभन्दा पनि वा मैले क्या गज्जब गरेँ भनेर गर्व गर्न सक्ने कतिपय कामहरू चाहेर पनि गर्न नसकिने कुरा सत्य हो’, पन्थी भन्छन्, ‘त्यसैले म मरो जागिरे अनुभवलाई उपयोग गर्दै मैले जागिरमा हुँदा चाहेर पनि गर्न नसकेका कामहरू गरेर रिटायर लाइफमा रमाउने प्रयत्न गर्दै छु ।’
पन्थीलाई लाग्छ, ‘रिटायर लाइफ भनेको काम धाम छाडेर रमाउने समय हैन । यो त आफ्नो पेसा व्यवसाय गरी रहँदाको दशकौँ समयको अनुभव र भोगाई बाट थप परिपक्व र जिम्मेवार हुँदै परिष्कृत ढंगबाट समाजप्रति उत्तरदायी हुँदै काम गर्ने अमूल्य समय हो ।’
तल्लो दर्जाको प्रहरी कर्मचारी हुँदै डिएसपी बनेर काम गर्दासम्म पन्थीसँग प्रहरीमा ३० वर्ष काम गर्दाको अनुभव ताजै छ । त्यसो त प्रहरी आफैमा न्याय सम्पादनका निम्ति कानुनको पालना गर्दै काम गर्ने महत्त्वपूर्ण संस्था हो । तर, पन्थीले न्याय दिँदा आफू स्वयंले अन्याय भोगेका दृष्टान्तहरू पनि बिर्सिएका छैनन् । अनि, न्याय खोज्न जाँदा सत्ता, शक्तिको दुरुपयोगकै कारण पीडित थप पीडामा परेको पनि नदेखेका हैनन् ।
त्यसैले पन्थीलाई अझै पनि लाग्छ, ‘यो देशमा बोल्नेको पिठो बिक्न सक्छ, नबोल्नेको चामल पनि बिक्दैन । हाम्रो सामाजिक परिवेश अनुसार सामान्य नागरिकहरूलाई न्याय पाउन सोचेजस्तो सहज छैन ।’
प्रहरीमा रहेर काम गर्दागर्दै चाहेर पनि पीडितलाई सहयोग गर्न नसक्दा पन्थीलाई कहिलेकाहीँ दुख पनि लाग्थ्यो । यद्यपि, उनले सकेसम्म गरिब, दुखी, असहाय र अन्यायमा परेका पीडितहरूलाई हरसम्भवः न्याय दिलाउन सहयोग गर्थे । तर, ‘चेन अप कमाण्ड’ले उनलाई चाहे जति सहयोग गर्न दिँदैनथ्यो । न बोल्न मिल्थ्यो न खुलेरै सहयोग गर्न १
यी यस्ता घटनाहरूको सामना पनि उनले अवकाश प्राप्त गर्ने बित्तिकै यस्ता मानिसहरूका निम्ति केही गर्ने मनमनै आफैसँग प्रतिबद्धता गरेका थिए । अवकाश प्राप्त गरेको भोलिपल्टैबाट उनले उक्त प्रतिबद्धता पूरा गर्न आन्तरिक तयारी थाले । समाज शास्त्रमा मास्टर डिग्री र कानुनमा स्नातक गरेका उनले अन्ततः आफूसँग गरेको वाचा पूरा गर्ने जग बसालिसकेका छन् । अर्थात्, हालसालै उनले आफ्नो नेतृत्वमा ‘सरोकार केन्द्र’ नामक संस्था दर्ता गरेका छन् ।
उनी भन्छन्, ‘समयसँगै समाजमा हुने आपराधिक घटनाहरू नयाँ रूपमा बढ्दै छ । हरेक मानिसहरू न्यायको पहुँचमा पुग्न सकेका छैनन् । पुगे पनि समयमै र कानुनतः न्याय पाउन सकेका छैनन् । अन्यायमा परेका मानिसहरू जसको सहयोगका लागि कोही हुने छैन, उसका लागि सरोकार केन्द्र हुनेछ ।’
प्रहरीमा छँदा पनि दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड पाएका उनी इमानदार, कर्तव्यनिष्ठ र काविल अफिसरका रूपमा परिचित थिए । तर, संगठनमा रहँदा आफ्नो क्षमता अनुसार चाहे जति काम भने उनले गर्न पाएका थिएनन् । अब भने कसैको कमाण्ड विना नै उनी आफ्नो क्षमताले समाजका निम्ति महत्त्वपूर्ण योगदान पुर्याउन कस्सिएका छन् ।
उनका अनुसार सरोकार केन्द्रले मुख्यतः मानव बेचबिखन तथा ओसारपसार, वैदेशिक ठगी, सामाजिक संजाल बाट हुने अपराध र भ्रष्ट्राचार न्यूनीकरणका निम्ति काम गर्नेछ । साथै, अन्यायमा परेका असहाय र उत्पीडित वर्गका न्यायको निम्ति निशुल्क बहस, पैरवी पनि संस्थाले गर्नेछ । यस्तै, सम्भावित आपराधिक घटना न्यूनीकरण तथा न्यायको समान पहुँच पुर्याउनका लागि विभिन्न कार्यक्रम मार्फत जनचेतना फैलाउन आवश्यक रहेको भन्दै यसतर्फ पनि केन्द्रित हुने पन्थीको लक्ष्य छ ।
‘यो संस्था मेरो नेतृत्वमा हुनेछ । तर, यो मेरो मात्रै नभएर तमाम न्याय प्रेमी नेपालीहरूको हो । तसर्थ, यसको प्रवर्द्धन, विकासमा साथ दिँदै समाजका निम्ति स्वतःस्फूर्त ढंगबाट योगदान पुर्याउन च्याहाने देश तथा विदेशमा रहनु भएको हरेक नेपाली यस अभियानमा जोडिनु हुनेछ भन्ने मलाई विश्वास छ’, पन्थीले भने ।
समाजसेवाका नाममा देशमा थुप्रै संघसंस्था खोलेर कतिपयले कमाउधन्दा चलाई रहेको भन्दै त्यस्तो प्रवृत्तिलाई निरुत्साहित बनाउनु पर्ने पन्थीको सुझाव छ ।
प्रतिक्रिया