काठमाडौं- नेकपा(माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)को निर्वाचनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षीय उम्मेदवारको लज्जास्पद मत परिणाम आउनुको पछाडि केही नेताहरुको गलत हर्कतको उपज रहेको तथ्य खुलेको छ ।
अखिल(क्रान्तिकारी)को अध्यक्षमा प्रचण्ड पक्षीय उम्मेदवारले जिते पनि त्यसबाहेक बहुसंख्यक पदाधिकारीमा उपमहासचिव जनार्दन शर्मा पक्षीय उम्मेदवारहरु विजयी भएका छन् ।
यो पनि
अखिल(क्रान्तिकारी)को निर्वाचन : जनार्दन पक्षीय उम्मेदवारको शानदार जित
पार्टी अध्यक्ष प्रचण्डले विद्यार्थी संगठनमा गुटबन्दी गरेको नदेखाउने भन्दै उनको पक्षबाट अर्का उपमहासचिव शक्ति बस्नेतको आवरणमा विजयप्रकाश सापकोटालाई अध्यक्षमा उठाइएको थियो । अन्ततः उनै सापकोटाले चुनाव जित्न सफल भए पनि अन्य पदाधिकारीमा भने प्रचण्ड पक्षका उम्मेदवारको कमजोर उपस्थिति देखिएको छ ।
प्रचण्डको पक्षमा निराशाजनक मत परिणाम आउनुमा उनले परिचालन गरेका नेताहरुकै क्रियाकलाप मुख्य कारण रहेको माओवादी स्रोत बताउँछ । प्रचण्डले उपमहासचिव बस्नेतलाई चुनावी कमाण्डर बनाएर उनीसहित आफ्नो सचिवालय समेत परिचालन गरेका थिए । देशभरका विद्यार्थी नेताहरुलाई फोन गरेर धम्क्याउँदै आफ्नो पक्षका उम्मेदवारलाई मत मागेका थिए ।
यो पनि
प्रचण्डको नाम हदैसम्म दुरुपयोग गरेर व्यक्ति व्यक्तिसम्म फोन गयो : सुदन किराँती
साथै प्रचण्ड पक्षीय उम्मेदवार जिताउन पार्टीका युवा नेता रामप्रसाद सापकोटा दिपशीखा, बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री र बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जम्मकट्टेल समेत मुख्यरुपमा परिचालित भएको स्रोतले जनाएको छ ।
यी सबै नेताहरुलाई विभिन्न माध्यमबाट प्रचण्ड पक्षीय उम्मेदवार जिताउन परिचालन गरिएको थियो । उनीहरुले सबै अस्त्र प्रयोग गरेर आफू पक्षीय उम्मेदवारहरु जिताउन लागि परे पनि परिणाम भने आफ्नो पक्षमा ल्याउन सकेनन् ।
देशभर मतदाताका रुपमा रहेका विद्यार्थीहरुलाई प्रभावित पारेर आफ्नो पक्षमा तान्न अनेकौं हत्कण्डा अपनाए पनि त्यसलाई मतदानमार्फत विद्यार्थी नेताहरुले अस्वीकृत गरेका छन् ।
निर्वाचनमा अस्वाभाविक हर्कत गरेर ती चार नेताहरुले प्रचण्डको साख गिराएको माओवादीका एक नेता स्वीकार गर्छन् । त्यसकै उपज प्रचण्ड पक्षका उम्मेदवारको निराशाजनक मत परिणाम आएको हुनसक्ने उनको बुझाइ छ ।
‘प्रचण्डको नाममा देशभर फोन आतंक र अनकौं धम्कीपूर्ण अभिव्यक्ति दिएर अध्यक्षको साख नै गिराउने काम भयो।’, ती नेताले भने,‘त्यसले पनि मतपरिणाम प्रभावित पारेको हुनसक्छ। ’
यो पनि
अखिल(क्रान्तिकारी)को निर्वाचन : मतदातालाई प्रभावित पार्न पार्टी हेडक्वाटरको फोन आतंक
प्रतिक्रिया