काठमाडौँ - नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्मा ‘प्रभाकर’ यतिबेला राष्ट्रिय राजनीतिमा सबैभन्दा बढी चर्चामा आइरहने नाम हो । कहिले आफ्नै पार्टी अध्यक्ष प्रचण्डको कार्यशैलीमा प्रश्न उठाएर होस् वा कहिले संसदमा सरकारको आलोचना गरेर होस् उनी मिडियाको नजरमा परिहाल्छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा उनले विधिको शासन कमजोरहरूका लागि मात्रै लागू हुने हो भनेर कडा प्रश्न गरेका छन् ।
जनार्दन पार्टीमा पनि खरो र स्पष्टवक्ताको रुपमा चिनिने नेता हुन । उनी आफ्ना मतहरु राख्दा कोही खुशी होला वा रिसाउला भन्ने प्रवाह गर्दैनन् । संसदमा उनका भनाइहरु निकै चोटिला र मर्मस्पर्शी हुने गर्दछन् ।
आइतवारको प्रतिनिधिसभाको बैठक विशेष रह्यो । माओवादी केन्द्रका उपमहासचिव समेत रहेका प्रखर वक्ता शर्माले विशेष समय लिएर सम्बोधन गरे । ‘यो संसद्मा हामी आफैँले विधि नमान्दा समस्या आयो भने अनेक प्रवृत्ति कसरी लागू गर्ने ?’ शर्माले भने, ‘विधि भनेको पावरले मान्ने कुरा होइन । निर्धाले मान्ने कुरा हो । जोसँग शक्ति र पावर हुन्छ उसले विधि मान्न पर्दैन ।’
आजकै संसद्मा देखिएका दृश्यका कारण आफूले अन्य विषयमा बोल्ने तयारी गरेको भए पनि संसद्कै विषयमा बोल्न आवश्यक रहेको बताए ।
‘यहाँका बहसहरू, आजको कारबाही हेर्दा मलाई संसद्कै बारेमा बोल्न मन लाग्यो । यहाँ विषय उठ्यो, समितिले पास गरेका कुराहरूलाई फेरि अर्कातिर भत्काइयो । प्रक्रिया, विधि मिचियो भनियो । समस्या आयो भनियो,’ शर्माले भने।
तर, जनताले कसरी हेरिरहेका छन् भन्ने विषयलाई ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
‘हाम्रा कुरा जनताले हेरिरहेका छन् । बरु आजका आवश्यकता हामीले कसरी उठान गर्ने, डेटाहरूको व्याख्या गर्ने कुरा हो,’ शर्माले भने ।
जनताले परिणाम हेर्ने भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
पार्टीमा पनि उनले विधी र पद्धतिको बहस उठाएका छन् । उनकै ऐजेण्डामा विद्यार्थीको सम्मेलनमा उमेर हद लागु भयो र निर्वाचन पनि भयो । शर्माले पार्टीको स्थायी समिति बैठकमा पेश गरेको पाँच बुँदे प्रस्तावले एक खालको कम्पन ल्याएको थियो पार्टीमा ।
माओवादी पार्टीको आन्तरिक जीवन कसरी चलेको छ भन्ने प्रश्नमा उनी भन्छन् ,‘माओवादीको विचार के हो, कुन विचार, संगठनात्मक पद्धतिमा टेकेर पार्टी पुनर्निर्माण गर्ने हो भन्ने मूल प्रश्न छ। २०७२ को संविधानमार्फत केके उपलब्धी हासिल भए ? के–के उपलब्धिको अपनत्व हामीले लिनुपर्ने हो ? कुन बाँकी छन् ? यी अन्तरविरोध बाँकी छ। अहिले जनताले देख्न चाहेको माओवादी कुन वैचारिक आधार, संगठनात्मक धरातल सहितको हो भन्ने मूल प्रश्न हल गर्नुपर्ने छ। हामीले अलम्बन गरेको वैचारिक–सांस्कृतिक र संगठनात्मक धरातल आदि प्रश्नको हल नभइ निर्वाचन प्रणाली, निर्वाचनको विधि र त्यसमार्फत् नेतृत्वको अनुहार बदलेर अहिलेको अन्तरविरोधको समाधान निस्किँदैन ।’
प्रतिक्रिया