समाचार टिप्पणी

राजावादी आन्दोलनको अनिश्चित भविष्य : त्यो बेलाका तुल्सी गिरी, अहिलेका नवराज सुवेदी

सोमबार, ०४ चैत्र २०८१, १४ : ०८

काठमाडौं - २०६१ माघमा तत्कालीन राजा ज्ञानेन्द्रले ‘कु’ गरेपछि पनि केही मानिसहरुमा राजाले अब केही नयाँ कामहरु गर्छन भन्ने लागेकै थियो । संसदवादी दलहरुको कुशासन र माओवादी विद्रोहको कारण जनतामा उकुसमुकुस व्याप्त थियो । राजाको कदमले देशलाई निकास दिन सक्छ भन्ने झिनो आशा अधिकांश नेपालीलाई थियो । 

राजा आफै मन्त्रीपरिषदको अध्यक्ष भएर दुई जना उपाध्यक्षहरु नियुक्त गरे । ती मध्ये एक थिए राजनीतिबाट पाखा लागिसकेका पूर्व प्रधानमन्त्री डा. तुल्सी गिरी । उनी आफ्नो समयका निकै चतुर र अवसरवादी नेता थिए । वीपी कोइरालका अत्यन्त निकट गिरी २०१७ सालको काण्डपछि राजा महेन्द्रलाई साथ दिन पुगेका थिए । उनी पञ्चायतकालमै देशै त्यागेर श्रीलंका गएका थिए । एक प्रकारले जनताले बिर्सिसकेका ‘आउट डेटेड’ नेतालाई राजाले सरकारको उपाध्यक्ष बनाए । अर्का उपाध्यक्ष कीर्तिनिधि विष्टको तुलनामा उनी निरंकुश र कट्टरपन्थी थिए । यसबाट राजाको कदमबाट उत्साहित भएका मानिसहरु पनि निराश बन्न पुगेका थिए । त्यही कारण राजतन्त्र झनै बदनाम बन्न गएको थियो । माओवादी लगायत गणतन्त्रवादीहरुलाई मलजल गर्ने काम नकारात्मक रुपमा भए पनि तुल्सी गिरी प्रवृत्तिबाट भयो । व्यापारिक पृष्ठभूमिका राजा ज्ञानेन्द्रले बाबु महेन्द्र जस्तो राजकीय कौशल जानेका रहेनछन् भन्ने टिप्पणी उनकै समर्थकहरुले गर्ने गर्दथे । 

आज गद्दीच्युत भएको झण्डै २० वर्षपछि फेरि उनै पूर्वराजा ज्ञानेन्द्रप्रति मानिसहरुको आशा पलाएको व्यापक चर्चा हुन थालेको छ । मूलधारका राजनीतिक दलहरुको अकर्मण्यताको कारण राजाप्रति मानिसहरु आशावादी बनेको देखिन्छ । फागुन २५ गते राजाको स्वागतमा देखिएको उल्लेखनीय उपस्थितिबाट उत्साहित भएका राजावादीहरु भरपर्दो र सर्वमान्य व्यक्तित्वले यो आन्दोलनको कमाण्ड सम्हालोस् भन्ने चाहन्थे । यद्यपी राजावादीहरुमै एकमत बन्न नसकिरहेको अवस्था पनि हो ।

राजसंस्था पुनस्र्थापना गर्ने समग्र आन्दोलनको नेतृत्व राजाले पुराना पञ्च नवराज सुवेदीलाई दिएपछि भने एकाएक राजावादी आन्दोलनको रापताप घट्न थालेको देखिन्छ । सुवेदी आजको प्रतिनिधिसभा जस्तै पञ्चायतकालको संसद राष्ट्रिय पञ्चायतका अध्यक्ष थिए । उनी पञ्चहरुमा हार्डलाइनर मानिन्थे । उनी पनि तुल्सी गिरी जस्तै आजको पुस्ताले नचिनेको र पुरानो पुस्ताले बिर्सेका नेता हुन । यसले के संकेत गर्दछ भने यदि राजा सत्तामा फर्किहाले भने उनले लिने भावि राजनीतिक दिशा लोकतान्त्रिक बन्ने छैन । उनी संवैधानिक राजा मात्र हुन चाहँदैनन् । भारतीय संस्थापनले साथ दिएमा उनी सक्रीय राजनीतिमा नै फर्कन चाहन्छन् भन्ने विश्लेषण सही नै हो कि जस्तो देखिएको छ । या त उनी वर्तमान समयको आवाज सुन्न समर्थ छैनन् भन्ने पनि अनुमान गर्न ुसकिन्छ । नवराज सुवेदीलाई अघि सार्नुले यस्ता थुप्रै आशंकाहरुलाई जन्माएको स्वयम राजावादीहरु पनि बताउन थालेका छन् ।     
 

सोमबार, ०४ चैत्र २०८१, १४ : ०८

प्रतिक्रिया