काठमाडौं- गणतन्त्रणमा आम नागरिकले निराशा, अभाव हैरानी खेप्नु परेको भन्दै पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो हस्तक्षेपकारी भूमिका बढाउने मनासाय नयाँ वर्षको अवसरमा जारी सन्देशमा अभिव्यक्त भएको छ । गत फागुन ७ मा प्रजातन्त्र दिवसको अवसर पारेर पूर्वराजा ज्ञानेन्द्रले भिडियो सन्देश मार्फत जनतालाई उस्काउन खोजेको प्रष्ट हुन्छ ।
समकालीन नेता र दलहरुलाई चुनौति दिने गरी दिइएको उक्त अभिव्यक्ति ज्ञानेन्द्रलाई गलपासो बन्योे । राजतन्त्रको मुद्धा उठाएर जनतालाई भड्काउन खोजेको भन्दै उनीप्रति राजनीतिक दलहरु असन्तुष्ट बने । ज्ञानेन्द्रले फेरि गणतान्त्रिक व्यवस्थामाथि गिद्धे नजर लगाएको भन्दै राजनीतिक दलहरु आक्रमक शैलीमा प्रस्तुत भए ।
पूर्वराजा ज्ञानेन्द्रलाई साइजमा लिन राज्यबाट पाएको सुरक्षा र सेवासुविधा रोक्ने निर्णयमा सरकार पुगेपछि उनी अहिले रक्षात्मक देखिएका छन् । प्रजातन्त्र दिवसको अवसरमा दिएको सन्देशलाई सुधार गर्दै उनी रक्षात्मक र कूटनीतिक ढंगले प्रस्तुत भएका छन्। आइतबार ज्ञानेन्द्र जारी गरेको भिडिया सन्देश सुक्ष्म विश्लेषण गर्दा केही गम्भीर र कुटनीतिक तथ्यहरु फेला परेको छ ।
उनले जनतामा देश र भविष्यलाई लिएर जुन खालको जागरुकता पैदा भएकाले त्यसलाई हामीले सकारात्मक रुपमा लिएको बताएका छन् ।
पूर्वराजा ज्ञानेन्द्रले आइतबार नयाँ वर्षको अवसर जारी गरेको भिडियो सन्देश निकै अर्थपूर्ण र कुटिल छ । भिडियो सन्देशमा ज्ञानेन्द्रले समकालीन अवस्थामा जनतामा देशको भविष्यलाई लिएर जागरुकता पैदा भएको र यसलाई सकारात्क रुपमा लिएको बताउनुले उनी गणतान्त्रिक व्यवस्थाप्रतिको असन्तुष्टिबाट उत्साहित भएको प्रष्ट हुन्छ । उनले जनता निराश रहेको भन्दै उनले नागरिकहरु फेरी संवैधानिक राजतन्त्र स्वीकार्न तयार भएको घुमाउरो पारामा सन्देश दिएका छन् ।
उनले भनेका छन्, ‘देशलाइ विद्यमान जटिलताबाट मुक्त गराई शान्त, स्थिर र समृद्ध मुलुक बनाउने जागरुकता जुन पैदा भएको छ, नयाँ वर्षमा ०८२ मा नेपाली जनताको चाहना अनुसारको परिणाम हासिल हुने विश्वास थपिएको छ ।’
पछिल्लो समय चौतर्फी आलोचना र घेराबन्दी परेपछि ज्ञानेन्द्रले भिडियो सन्देश जारी गरेका हुन्। एकातिर उनले आन्दोलन भड्काएको आरोप छ भने अर्को तिर सरकारले उनलाई पक्राउ गर्ने खोजेको हल्ला समेत चलेको छ । अनुकुल पस्थितिको समिक्षा गरिएपछि दिएको भिडयो सन्देशमा उनले कुनै पनि समयमा राजा देश र जनताकै पक्षमा रहेको सन्देश दिएका छन् ।
समकालीन व्यवस्थामा समस्या देखिएको भएपनि जनता देशलाई समृद्ध, शान्त बनाउन तयार रहेको बताएका छन् । उनले प्रष्ट रुपमा नेपाली जनता अहिले पनि राजतन्त्रको पक्षमा रहेको आशय व्यक्त गरेका छन् । यतिमा मात्र पूर्वराजा ज्ञानेन्द्र रोकिएनन् उनले अगाडि थपेका छन्, ‘२०८२ साल भित्र जनताको चाहना पुरा हुने विश्वस लिएको छु । यसको मतलव चाँडै आफू फेरी राजा बन्ने अवस्था सिर्जना भएको सन्देश पनि दिन खोजेका छन् । राष्ट्रियता र प्रजातन्त्रलाई मुल कार्य मान्दै जनभावना बमोजिम चल्ने बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाको परम्परामा हाम्रो मान्यता रहिआएको छ ।’
कुनै बेला पूर्वराजा ज्ञानेन्दले सम्पूर्ण राजसत्ता हात लिएर लादेको निरंकुश शासनको भुक्तभोगी अहिले पनि नेपाली जनता छन् । तर, उनले आइतबार दिएको सन्देशमा अब राजा पनि संविधानको परिधि भित्र बस्ने र संविधानविरुद्ध नगएर राष्ट्रलाई समृद्ध बनाउने अभियानमा लाग्ने भन्दै जनतालाई आश्वस्त पार्न खोजेका छन् । अर्थात उनले राजतन्त्र निरंकुश नबन्ने र लोकतन्त्रको संरक्षण गर्दै संवैधानिक राजा आफूले बन्ने चाहेको स्पष्ट सन्देश दिएका छन् ।
युवा स्वरोजगारको निम्ति अवसरको खोजी गरी नेपालमै आयआर्जन गर्नसक्ने वातावरण तयार गर्नुपर्ने आजको पहिलो आवश्यकता बनेको छ । सबै नेपालीको तन, मन र ध्यान त्यसैमा लगाउनु परेको छ । विश्वभर छरिरहेका नेपाली एकताको सूत्रमा बाँधिन अब ढिला गर्न हुँदैन ।
उनले दिएको अर्को सन्देशबाट के बुझ्न सकिन्छ भने उनी जनताको सवेदनमा खेलेर सत्ता हत्याउन तयार छन् । गणतन्त्रकै कारण देशमा रोजगारी अभाव भएको तथा नेपालीहरुको आयआर्जन बढाएर सम्पन्न बनाउनका लागि व्यवस्था परिवर्तन गर्न जरुरी रहेको बताएका छन् । साथै राजतन्त्रको मागलाई सशक्त ढंगले उठाएर एक ढिक्का हुन पनि पूर्वराजाले सबैमा आह्वान गरेका छन् ।
उनले भनेका छन्, ‘हामी अस्थिरता, अशान्ति, अराजकता, विपन्नता र भ्रष्टाचारको अन्त्य चाहन्छौं । त्यसका निम्ति नेपाली जनताबाट हुने हरेक प्रयासमा ऐक्यबद्धता रहनेछ । ’
पछिल्लो समय देश अस्थिरताबाट गुज्रिएको संकेत गर्दै ज्ञानेन्द्रले भ्रष्टचार अन्त्य गर्ने जरुरी रहेको र त्यसका लागि जनताले राजतन्त्रको पक्षमा आवाज उठाउनु पर्ने धारण राखेका छन् । मुुलुकमा राजतन्त्र स्थापना भएमा देशमा शान्ति, विकास र अमन चैयन हुने उनको विश्वास छ । समग्र रुपमा हेर्ने हो भने गणतन्त्रकै कारण नेपाली जनता पीडा र अभाव भोग्न बाध्य छन भन्ने भाष्य स्थापित गर्ने खोजेका छन् ।
प्रतिक्रिया