नेपाल माइक्रो इन्स्योरेन्सको आम्दानीमा वृद्धि, नाफा भने घट्यो

सोमबार, २२ बैशाख २०८२, १२ : ३६

काठमाडौं— नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (चैतमसान्तसम्म) को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।  विवरणअनुसार कम्पनीले बीमा शुल्क आम्दानीमा उल्लेख्य वृद्धि गरेको छ ।

कम्पनीले चैत मसान्तसम्म १२ करोड ७७ लाख १ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४१४.०३ प्रतिशतले वृद्धि हो।

खुद बीमाशुल्कतर्फ कम्पनीले ५ करोड ४६ लाख ६७ हजार रुपैयाँ आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६०५.७४ प्रतिशतले बढी हो।

बीमा कोषको आकार पनि १२८.१८ प्रतिशतले वृद्धि भई १८ करोड २७ लाख २४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको असार मसान्तसम्म यो कोष ८ करोड ७८ लाख ६४ हजार रुपैयाँमा सीमित थियो।

चुक्ता पुँजी ७५ करोड रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भ, महाविपत्ति कोष, रिटेन्ड अर्निङ र अन्य इक्विटीमा समेत सुधार देखिएको छ।

कम्पनीको कुल आम्दानीमा सुधार आए पनि नाफा भने घटेको छ। समीक्षावधिमा कम्पनीले मात्र ४ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको २४ लाख १५ हजार रुपैयाँभन्दा ८०.०८ प्रतिशतले कम हो।

वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेर ०.०९ रुपैयाँमा झरेको छ, जबकि अघिल्लो वर्ष यो ०.६१ रुपैयाँ थियो। प्रतिसेयर नेटवर्थ भने १०१ रुपैयाँ कायम छ।

सोमबार, २२ बैशाख २०८२, १२ : ३६

प्रतिक्रिया