मकवानपुरको राक्सिराङमा सवारी दुर्घटनाः नौ जना घाइते, ६ जनाको अवस्था गम्भीर

बुधबार, २४ बैशाख २०८२, ०९ : ५७

मकवानपुर- राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्री सडकखण्डमा यात्रीवाहक सवारीसाधन दुर्घटना हुँदा नौ जना घाइते भएका छन् भने छ जनाको अवस्था गम्भीर छ ।  

मकवानपुरको खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा१५च १३३३ नम्बरको सवारीसाधन बिहान दुर्घटना हुँदा राक्सिराङका–९ का १६ वर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, ७५ वर्षीय डिलबहादुर घलान र उनकी पत्नी ७० वर्षीया फूलमाया घलान, ३८ वर्षीय रुपबहादुर राउत र ४८ वर्षीय दीपक खड्का गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। 

दुर्घटनामा ५० वर्षका सूर्य अधिकारी र १४ वर्षका कुमार तामाङ,  राक्सिराङ गाउँपालिका–९ निवासी २८ वर्षका सुजन तामाङलाई भने सामान्य चोट लागेको छ । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी कान्द्राङबाट प्रहरी सहायक निरीक्षक भरतकुमार खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो । घाइतेहरूको मनहरी अस्पतालमा उपचार भइरहेको छ ।

बुधबार, २४ बैशाख २०८२, ०९ : ५७

प्रतिक्रिया