काभ्रेपलाञ्चोक– यहाँको ऐतिहासिक नगर पनौतीमा एक हजार ४ सय २१ वर्षदेखि मनाइँदै आइएको हिले–जात्रा आज दोस्रो दिनमा पनि जारी छ । सोमबारदेखि सुरु भएको जात्राको अवसर पारेर पनौती नगरपालिकाले आज (मंगलबार) सार्वजनिक बिदा समेत दिएको छ ।
परम्पराअनुसार हिजो साँझ पुण्यमाता खोलामा नागको प्रतिकका रूपमा दुईवटा बाँस तेर्स्याइने र देवगण(दुइचा न्याकेगू) हरू सुस्तरी तरेपछि विशेष जात्रा सुरु भएको मानिन्छ । हिजै राति अबेर भद्रकालीको रथ तानियो भने रातभरि गैंडु पूजा (होम गर्ने) गरिएको पनौती जात्रा मूल व्यवस्थापन समितिले जनाएको छ ।
जात्रा मनाउने क्रममा आज चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा धुमधामसहित पूजा अर्चना गरिन्छ । साथै, इन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा अवस्थित महेश्वर गणेशको मूर्तिलाई खटमा राखी अबीर जात्रा गरी नगर परिक्रमा गराइनुका साथै साँझै भद्रकालीको रथ तान्ने र चक्र पूजा गरिन्छ ।
त्यसैगरी जात्राको तेस्रो दिन अर्थात् भोलि पूर्णिमाको दिन सबेरै बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीन वटा रथको भागदौड गराउने र रथ भेटिँदा रथलाई एकापसमा जुधाउने काम हुन्छ ।
पनौतीस्थित लायकु दरबार, डबलीमा इन्द्रेश्वर महादेव, भद्रकाली र उन्मत्त भैरवका रथहरू एकआपसमा सम्भोग अर्थात् जुधाएर जात्रा मनाउने चलन छ । यस जात्रामा घुम किन्ने,चिउली केरा किनेर खाने प्रचलन चलि आएको छ ।
तस्बिरहरुः प्रशान्त श्रेष्ठ
प्रतिक्रिया